देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति

भक्तपुर, असार २
मनसुन शुरु भएसँगै केही दिन यता परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानले क्षति गरेको छ । वर्षापछि नदिहरुमा आएको बाढीले नदि तटीय क्षेत्रमा बाढी पसेको छ भने पहाडी भेगका केही स्थानमा पहिरो आउँदा राजमार्ग समेत अवरुद्ध भएका छन ।
सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती खोलामा आएको भिणष बाढीले मेलम्ची र हेलम्बु बजार डुवानमा परेको छ । बाढीले चार जना मानिस वेपत्ता भएका छन । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले तीन पुरुष र एक महिला बेपत्ता भएको जानकारी दिनुभयो ।
बाढीले मेलम्ची खानेपानीको क्याम बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ । हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा फार्म बगाएको छ ।


हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची बजार डुबानमा परेका छन् । इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारका लागि खटीएको छ । सडक मार्ग विच्छेद भएका कारण उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।
यसैबीच हेलिकप्टरले स्थानीय राज होटको छतमा फसेका दुई जनालाई उद्धार गरेको । बाढीले बगाएर वेपत्ता दुई जनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारीका अनुसार एक जनाको शव भीमटार र अर्का व्यक्तिको शव काभ्रेको मण्डनमा भेटिएको हो । अन्य थप मानविय क्षति भएको जानकारी आइनसकेको प्रजिअ अरुणकुमार पोखरेलले बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले मेलम्ची ड्यामसाइट र हेलम्बुको चनौटे आसपासमा करिब ५० जनाभन्दा बढी बेपत्ता भएको सुन्नमा आएपनि त्यसबारे बुझ्ने प्रयास भइरहेको बताउनुभयो ।
त्यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको हो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता छन ।
गोरखाको स्थानीय खोला तर्न खोज्दा एक मजदुरलाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ । ।
सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको छ । डीएसपी गोविन्द थापाका अनुसार दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको शव फेला परेको हो । त्यस्तै दाम्ना–४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको हो ।
नारायणी नदिमा आएको बाढीले नारायणगढ र गैँडाकोटको तटीय क्षेत्र डुबानमा परेको छ । नारायणीको बाढीले उग्र रूप लिएपछि त्रिवेणीको गण्डक बाँधको सबै ढोका खोलिएका छन । नारायणीको तटीय क्षेत्र त्रिवेणी, गैँडाकोट, सुस्तालगायतका क्षेत्रका बासिन्दालाई बस्तीबाट अन्य सुरक्षित स्थानमा जान सन्देश पठाइएको छ ।
यस्तै म्याग्दी नदीमा पनि पानीको सतह बढेको छ । म्याग्दीको उच्च हिमाली भेग र बेनी बजार आसपासमा भारी वर्षा भएको छ । यसैगरी निरन्तरको वर्षाका कारण विभिन्न स्थानहरुमा बाढी र पहिरो गएपछि बेनी जोमसोम सडक,बेनी दरवाङ सडक र ग्रामिण सडकहरु पूर्णरुपमा अवरुद्ध भएका छन् ।
अविरल वर्षापछि आएको पहिरोले राप्तीलोक मार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्ड अन्र्तगतको राप्ती राजमार्ग मंगलबार साँझदेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा दाङ्ग, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिमको आवागन बन्द भएको छ । सडकमा एक सय सवारी साधन रोकिएका छन् ।
स्रोत विभिन्न न्यूज एजेन्सी