नेवार समुदाय सिथि नखः पर्व मनाउँदैं

फाईल फोटो

भक्तपुर, असार २, लक्ष्मी गारु

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन ।
भगवान कुमारको जन्म दिन समेत भएकाले यस दिन कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।
नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्व मध्ये एक हो सिथि नखः पर्व ।
सिथि नखःको दिन नेवार समूदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन । वर्षातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दुषित नहोस भनी पानीको मुहान र स्रोतको वरिपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।
सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यस चाडसँगै वर्षा शुरु हुने र किसानको वर्षको महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रापाईं) शुरु हुने भएकोले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रुपमा समेत लिईन्छ ।
नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । “पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा पनि धार्मिक महत्व रहेको छ । गणेश देवताहरुका गणनायक हुन भने कुमार देवगणका सेनापति हुन । देवी देवताहरु मध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रोपाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ,” प्रा. डा. श्रेष्ठ भन्नुभयो ।

फाईल फोटो

नेवार समूदाय कला सँस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र सांस्कृतिक चाडपर्व मनाउने गर्दछन । तर वर्षासँगै ती सबै थाँती राखी धान बाली लगाउन व्यस्त हुन्छन ।
नेवारीमा प्रचलित एउटा भनाई, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात ‘मान्छे मरे घुमले छोपेर भएपनि पहिला धान रोपाईं सक्नुपर्छ’ ले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ । यस्तो अवसरमा किसानहरुलाई जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा. डा. श्रेष्ठको कथन रहेको छ ।
धान खेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षातको झरीमा रुझेर, हिलो माटोसँग पौंठेजोरी खेल्दै गरिने धान रोपाईंलाई अन्य खेतीपातीमा भन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समूदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चामलको चटामरी, पापड, गहुँको मालपुवा लगायतका पकवान खाने चलन रहेको प्रा. डा. श्रेष्ठले बताउनुभयो । साथै भर्खरै गहुँ भित्र्याईने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटीहरु खाने चलन समेत रहेको छ ।
यस दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाईन्छ ।
यस दिन किसानहरुले खेत बारीमा काम गर्दैनन । एका बिहानै घरमा रहेको गाई वस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पु¥याउने गर्दछ । त्यसपछि आफ्नो घर सफा गरि सिथि नखः पर्व मनाउन व्यस्त हुन्छन । यस दिन खेतको माटोलाई चोट पु¥याउन नहुने जनश्रुती रहेको पाईन्छ ।