व्यवसायी मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान सिलिण्डर सहयोग गरे

भक्तपुर, असार १
व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कटुञ्जेस्थित नगरपालिकाका कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा व्यवसायी मल्होत्रा र पुर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले संयुक्तरुपमा सो सिलिण्डर नगरप्रमुख बासुदेव थापालाई हस्तान्तरण गर्नुभयो । व्यवसायी मल्होत्राले बस्नेतको पहलमा नगरपालिकाले सञ्चालन गर्ने सूर्यविनायक अस्पतालको लागि सो सहयोग गरेको हो ।
सो अवसरमा निवर्तमान सांसद बस्नेतले निजी क्षेत्रको साथ् र सहयोगले सरकार र जनतालाई कोभिड–१९ बिरुद्ध लड्ने साहस बढेको बताउनुभयो ।
सूर्यविनायक नगर प्रमुख बासुदेव थापाले जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले गरेका प्रयासबारे अवगत गराउदै जगातीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालसँगै नगरको स्वास्थ्य क्षेत्रमा नयाँ युग शुरु हुने जिकिर गर्नुभयो ।
व्यवसायी मल्होत्राले सहयोग गर्न पाउँदा आफुलाई सन्तोष मिलेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका व्यवसायी मल्होत्राले सामाजिक संस्था डीएम फाउन्डेसन मार्फत सामाजिक काम गर्दै आउनुभएको छ । कोरोना भाइरस संक्रमणको महामारीमा अक्सिजन अभाव भएसंगै मल्होत्राले चीनबाट अक्सिजन सिलिन्डर खरिद गरी अस्पतालहरुलाई निःशुल्क उपलब्ध गराउदै आएका बताइएको छ । सूर्यविनायक नगरपालिकालाई पनि सोही संस्थामार्फत सहयोग गरिएको हो । सो अवसरमा नगर उपप्रमुख जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई लगायतको समेत उपस्थिति रहेको थियो ।