नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी – बिजुक्छें (फोटो फिचरसहित)

भक्तपुर, असार १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी भएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टको मंगलवार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले नेपाल भारत सिमानाका समयमा नियन्त्रण गरेको भए नेपालमा कोरोना महामारीको रुपमा फैलिएको र यसमा सरकार दोषी भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, नेपाल भित्रिनेहरुको स्वास्थ्य जाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएको हो । यसमा सरकार नै दोषी छ ।’
जनताको जीवन रक्षामा सरकार चुकेको बताउँदैं अध्यक्ष बिजुक्छेँले जनतालाई सामुदायिक र निजी संस्थाहरुबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित्त जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोभिड महामारीविरुद्धको लडाइँमा संसारका धनी र विकसित देशहरुलाई समेत कठिन भएको चर्चा गर्दै कोभिड जस्ता महामारीबाट सर्वसाधारण जनताको जीवन रक्षाको लागि नेपालका सातै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने बताउनुभयो ।
जनताको सहयोगी भावनाले प्राप्त भएको आर्थिक र भौतिक सहयोगबाट निर्मित अक्सिजन प्लान्टले जनताकै हित हुनेमा विश्वास व्यक्त गर्दै उहाँले भक्तपुर नगरपालिकाले पनि जनताको सहयोगको सही सदुपयोग गरी जनताकै सेवामा बढीभन्दा बढी उपयोग हुनुपर्ने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरुले समयमै सक्रियतापूर्वक कोभिड नियन्त्रणका लागि आवश्यक कदम चालेकाले भक्तपुर नगरपालिकाले कम क्षति व्यहोरेको बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनता आफै अग्रसर भएर श्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण भएको बताउनुभयो ।
संकटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वभाविक भएको बताउँदैं प्रमुख प्रजापतिले कोभिडको दोस्रो लहरको संकेत भक्तपुर नगरपालिकामा देखा पर्ने बित्तिकै बैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको बताउनुभयो ।
अक्सिजन प्लान्ट राख्न १ करोड ४१ लाख २५ हजार लागत इष्टिमेट तयार भएकोमा हालसम्म १ करोड २३ लाख ३६ हजार रुपैया खर्च भएको जानकारी दिँदैं प्रमुख प्रजापतिले ख्वप अस्पतालले दिने सेवा सुविधा सरल र सहज बनाउन प्रयत्नरत रहेको बताउनुभयो ।


उपप्रमुख रजनी जोशीले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा सञ्चालन गर्ने उद्देश्यअनुरुप नगरपालिका लागिपरेको र मानव जीवन रक्षा गर्ने अक्सिजन प्लान्ट नगरपालिकाको लागि गौरवको कार्य भएको बताउनुभयो ।
वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महामारीको मौका छोपी कृत्रिम अक्सिजन अभावको स्थिति सृजना गरी कालोबजारी गर्नेहरुलाई अपराधीको संज्ञा दिनुभयो । उहाँले भक्तपुरबासी जनताको अपार माया र सहयोगकै कारण अक्सिजन प्लान्ट स्थापना निर्धारित समयमै गर्न सम्भव भएको बताउनुभयो ।


ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले अक्सिजन प्लान्टको खरिद प्रक्रिया र जडानको प्राविधिक पक्षमाथि जानकारी दिनुभयो । जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले ख्वप अस्पताल कोभिड युनिट र जनस्वास्थ्य केन्द्रका कोभिड संक्रमित बिरामीहरुको अवस्था र अस्पतालबाट बिरामीहरुको सेवासम्बन्धी भइरहेका गतिविधिहरुबारे जानकारी गराउनुभयो ।