साना लगानीका स्वरोजगारमूलक पत्रिकाको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन माग

भक्तपुर, असार १

भक्तपुरका साप्ताहिक, मासिक र दैनिक पत्रिकाका प्रकाशकहरुले साना लगानीका स्वरोजमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण साना लगानीका स्वरोजमूलक पत्रपत्रिकाहरु आर्थिकरुपमा धराशायी भएको भन्दै उनीहरुले विशेष कार्यक्रमको माग गरेका हुन ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले मंगलवार कार्यालयमा आयोजित छलफलमा सहभागी प्रकाशकहरुले लकडाउन र निषेधाज्ञाले साना लगानीका स्वरोजमूलक पत्रपत्रिका प्रभावित बनेको र यसले गम्भिर आर्थिक संकट निम्त्याएको निष्कर्ष सहित समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन र सहुलियतपूर्ण कर्जाको समेत माग गरेका छन ।
छलफलमा धरहरा टाईम्स साप्ताहिकका प्रकाशक सम्पादक रमेश खड्काले लकडाउन र निषेधाज्ञाले पत्रिका छपाई र वितरणमा समस्या आएको र प्रकाशित विज्ञापनको शुल्क समेत उठ्न नसक्दा पत्रिकाले आर्थिक संकट व्यहोर्नु परेको बताउनुभयो । महासंघ भक्तपुरका संस्थापक अध्यक्ष समेत रहनुभएका खड्काले पत्रपत्रिकालाई संरक्षणका लागि महासंघले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
दवाब साप्ताहिकका सम्पादक एवम् महासंघ उपत्यका प्रदेश समितिका सचिव अमर भुजुले लकडाउन र निषेधाज्ञाले बजार बन्द हुँदा पत्रिका वितरण र छपाई संख्यामा कमी आएको बताउनुभयो ।
ङातापोल एक्सप्रेस दैनिकका प्रकाशक विश्वराम दुवालले कागजको अभावले मूल्यबृद्धि भएको, बढी तौलको कागज प्रयोग गर्नुपरेको र छपाई मजदुरलाई अतिरिक्त पारिश्रमिक दिनुपर्दा आर्थिक भार बृद्धि भएको बताउनुभयो ।
हाम्रो समाज साप्ताहिकका प्रकाशक मणिराम लामिछानेले साना लगानीका पत्रपत्रिकाको संरक्षणका लागि बैंक तथा वित्तिय संस्था, सरकारी निकाय र स्थानीय तहमा पत्रिकाको नियमित ग्राहक बनाउने प्रणालीको विकास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले केही समयदेखी नियमित विद्युत आपुर्तीमा अवरोध आएको र यसले पत्रिकाको कार्य सम्पादन गर्न तथा छपाईमा समस्या आएको बताउनुभयो ।
नुवागी मासिकका प्रकाशक मतिना त्वानावासुले आफैं कोभिड संक्रमण हुँदा पत्रिका नै बन्द गर्नुपरेको समस्या सुनाउनुभयो । उहाँले विज्ञापन संकलनमा आफैंबीचको अस्वस्थ प्रतिष्पर्धाले पनि साना लगानीका पत्रपत्रिकालाई विज्ञापनदाताको विश्वास गर्न नसकेको बताउनुभयो ।
त्रिपुरा न्यूजका प्रकाशक विकास थापा ‘प्रहर’ले कामदार नपाउँदा प्रेस नै बन्द भएको र त्यसले गर्दा पत्रिका नियमित प्रकाशन गर्न नसकिएको बताउनुभयो ।
महासंघ जिल्ला सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’ले साना लगानीका पत्रपत्रिका सबैका समस्या समान र साझा देखिएको भन्दै सबैले स्वस्थ प्रतिष्पर्धागरी समाधानका लागि सामूहिकरुपमा प्रयास गर्नुपर्ने सुझाव दिनुभयो ।
महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले साना लगानीका पत्रपत्रिकाहरुको संरक्षणका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा लोककल्याणकारी विज्ञापनको व्यवस्थागरी नियमितरुपमा सूचना प्रवाहको व्यवस्था नीतिगत रुपमै गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।