ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग

भक्तपुर, जेठ ३०
चीन स्वशासित तिब्बतको शान्नान सहरले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको शान्नान शहरले करिव १ करोड ९ लाख रुपैंयाँ बराबरको ती सामग्री तातोपानी नाकामार्फत पठाएको हो ।
ती सामग्रीहरुमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, ४० लिटरका अक्सिजन सिलिन्डर १०० वटा र आईसीयु बेड ५० वटा रहेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । ती सामग्री चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँको रहेको छ ।


भक्तपुर नगरपालिका र शान्नान शहरबीच बि.सं. २०७३ साउन ३० गते भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई शहरबीच पटक पटक अनुभव तथा सहयोग आदानप्रदान भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।
सो सामग्री अवलोकन गर्दै नगरप्रमुख प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्टको जडान भइसकेको र परीक्षणको रुपमा उत्पादन पनि शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको छ, अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुनेछ ।’


उहाँले चीनको छेन्दुबाट सिधै उत्पादक कम्पनीसँग सम्पर्क गरी अक्सिजन प्लान्टको सामग्री ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, छेन्दुको कम्पनीसँग सिधा सम्पर्क गरी कम्पनीको उत्पादन मुल्यमा अक्सिजन प्लान्ट ल्याएका हौं । यसमा बीचमा कुनै व्यक्ति वा कम्पनी जोडिएको छैन । यसले केही सस्तो दरमा हामीले प्लान्ट ल्याउन सफल भयौं ।’
अक्सिजनको अभावले कोभिडका बिरामीको मृत्यु हुन थालेपछि भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने र त्यसका लागि आर्थिक सहयोग जुटाउन नगरबासीसँग सहयोगको आह्वान गरेको थियो । सो आह्वानपछि भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा. ५ करोड ५९ लाख ५ हजार ८ सय १ रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भइसकेको छ ।