उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
भक्तपुर, जेठ ३०

काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारी एक साता थप गरिएको छ । कोरोना भाइरसको संक्रमण केही घटेपनि जोखिम नघटेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अनुसार मंगलवारदेखी तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
त्यस्तै साँझ ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिने निर्णय गरेको पराजुलीले बताउनुभयो । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजीकरण गर्ने निर्णय भएको छ । निषेधाज्ञाका बारेमा विस्तृत विवरण सूचनामार्फत जानकारी दिने जनाएको छ ।