चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग

भक्तपुर, जेठ २७
चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पतालमा सहयोग गर्ने सहयोगीहातहरु बृद्धि हुनेक्रम जारी रहेको छ । सो अस्पताललाई बुधवार विभिन्न पाँच वटा समूहले स्वास्थ्य सामग्री र नगद सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
‘आज सहयोग थाप्ने दिन परेछ । अस्पतालको लागि ५ वटा सहयोग थापियो,’ नगरप्रमुख मिश्रले भन्नुभयो । सो अस्पताललाई जर्मनी सहयोगी संस्था चानचेनले ५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरे ।
सो संस्थाले अस्पतालमा आइसियु सञ्चालन गर्नका लागि आवश्यक पेसेन्ट मोनिटर, स्वास्थ्यकर्मीका लागि पीपीई, पञ्जा सहयोग गरेको संस्थाका भक्तपुर शाखाका संयोजक नरेश धौबञ्जारले बताउनुभयो । संस्थाका रामचन्द्र प्रधानाङ्गको सक्रियतामा अस्पताललाई ३ थान पेसेन्ट मोनिटर, २० थान पीपीई, ४ बाकस पञ्जा सहयोग गरेको जनाएको छ ।
यसैगरी भक्तपुर उद्योग वाणिज्य संघले पनि अस्पतालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । ९ लिटरका ती कन्सन्ट्रेटर अत्याधुनिक प्रविधिको रहेको नगरप्रमुख मिश्रले बताउनुभयो ।
त्यस्तै पारिजात वचत तथा ऋण सहकारी संस्थाले अस्पताललाई नगद २५ हजार, भक्तपुर बहुमुखी क्याम्पसले ५१ हजार र जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज ललितपुरले ५ लाख रुपैंयाँ सहयोग गरेको नगरपालिकाका अधिकृत विजय शर्माले बताउनुभयो ।
त्यसैगरी ईन्फो नेपालले पनि पिपिई सेट, स्यानिटाइजर, मास्क र पञ्जालगायतका सामग्री सहयोग गरेको थियो ।