भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिको ‘सेवा परमो धर्म’ अभियान

भक्तपुर, जेठ २७
कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन गर्दै आईरहेको छ ।
अभियान अन्तर्गत विभिन्न संघसंस्थाको सहयोगमा आइसोलेसनमा निःशुल्क खाना व्यवस्थापन, स्वास्थ्यकर्मीका लागि क्वारेण्टाइन सञ्चालन, जुम प्रविधिमार्फत सचेतना कार्यक्रम, निःशुल्क चिकित्सकिय परामर्श सेवा, अक्सिजन सहजीकरण, निःशुल्क २४ सै घण्टा एम्बुलेन्स सेवा र जनचेतनाका लागि माईकिङ सञ्चालन गर्दै आइरहेको छ ।
अभियानले चाँगुनारायण नगरपालिकाले नेपाल ईञ्जिनियर कलेजमा सञ्चालन गरेको ५० शैयाको आइसोलेसन केन्द्रमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछे मानन्धरले बताउनुभयो । ‘आईसोलेसनमा बस्ने संक्रमित र कुरुवा समेतका लागि निःशुल्क रुपमा दिनको ४ पटक खाना खाजा व्यवस्थापन गर्दै आएका छौं,’ उहाँले भन्नुभयो, ‘हालसम्म ३० जना लाभान्वित भएका छन ।’


त्यस्तै चेम्बरले सिबिआर भवन ईन्द्रायणी पिठ भक्तपुरमा स्वास्थ्यकर्मीहरुको लागि क्वारेन्टिन सञ्चालन गर्दै आइरहेको छ । ‘अस्पताल एवं हेल्थ पोष्टमा कार्यरत स्वास्थ्यकर्मीहरु जो कोभिड–१९ का बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका हुन्छन् त्यस्ता स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क खानाको व्यवस्थासहित क्वारेन्टिन सञ्चालन गरेका छौं,’ उहाँले भन्नुभयो । सो क्वारेन्टिनमा हालसम्म १२ जना स्वास्थ्यकर्मीहरुले लाभ लिएको उहाँले बताउनुभयो ।
अभियान अन्तर्गत जुम प्रविधिमार्फत मनोचिकित्सक डा. कञ्चन दाहालले कोभिडबाट सुरक्षा र सजगता, वरिष्ठ कार्डियोलोजिष्ट डा. सञ्जय श्रेष्ठले घरमै कोभिड–१९ लाई कसरी व्यवस्थापन गर्ने, आयुर्वेद अस्पतालका सहायक प्रोफेसर डा. रेणु खायमलीले कोभिड–१९ ः आयुर्वेद र घरेलु उपचार र बालरोग विशेषज्ञ डा. गणेशभक्त रायले कोभिड–१९ र बच्चाहरुको सुरक्षा विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको अभियानका संयोजक रोशन भोयद्योले जानकारी दिनुभयो ।


त्यस्तै कोभिड– १९ का बिरामीहरुलाई सहजरुपमा अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँदैं आएको संयोजक भोयद्योले बताउनुभयो । ‘भक्तपुर अस्पतालको हातामा रहने एम्बुलेन्सलाई हटलाईन नम्बर ९८६१७५६४६१ मा सम्पर्क गरी सेवा लिन सक्ने व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘उक्त एम्बुलेन्सले उपत्यका भरीका बिरामीहरुका लागि सेवा पु¥याउँदै आएको छ ।’


अभियान अन्तर्गत चेम्बर र लायन्स समन्वय समितिले भक्तपुरका तीन वटा नगरपालिकालाई ५÷५ वटा ४० लिटरका अक्सिजन सहयोग गरेको छ । ‘भक्तपुर, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया अस्पताललाई अक्सिजन सहयोग ग¥यौं,’ भोयद्योले भन्नुभयो ।
त्यस्तै कोरोना संक्रमण भई होम आइसोलेसन बसेकाहरुलाई निःशुल्करुपमा चिकित्सकिय परामर्श, कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने सावधानी लगायत सरकारले लागु गरेको निषेधाज्ञाको पूर्ण परिपालनाका लागि जनचेतना अभिवृद्धि गराउन माइकिङ गर्दै आएको भोयद्योले बताउनुभयो ।
अभियानका लागि भक्तपुरका सबै लायन्स क्लवहरुलाई संयोजन गरी ‘भक्तपुर लायन्स सेवा समन्वय समिति’ गठन गरेको समितिका संयोजक विष्णुभक्त मारिखुले बताउनुभयो ।
यो अभियानमा ९ वटा संघसंस्थाले सहकार्य गरेको छ । सहकार्य गर्ने संस्थाहरुमा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर, भक्तपुर डाक्टर्स सोसाइटी, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, नेपाल नर्सिङ संघ, सिबिआर भक्तपुर, भक्तपुर हार्ट एण्ड डायेवेटिक सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ संघ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लि. छन ।