नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह

भक्तपुर, जेठ २६

 चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो ।

नगरपालिकाले राजनीतिक दल, संघ संस्था, बुद्धिजीवी, नागरिक समाज, विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारकर्मीलगायत आम नागरिकहरुलाई सामाजिक सञ्जाल, टेलिफोन, म्यासेज र इमेलमार्फत सुझाव दिन आग्रह गरेको छ ।

‘चाँगुनारायण नगरपालिकालाई समृद्ध बनाउन लागि के कस्ता नीति तथा कार्यक्रम आवश्यक रहेको र सो मा समावेश गर्नुपर्ने विषयहरुका सम्बन्धमा आ–आफ्नो अमूल्य सुझाव दिन अनुरोध छ’, सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले यही जेठ मसान्तसम्म सुझाव दिन सूचित गरेको छ । नगरपालिकाले सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेको मोवाइल नं. ९८४३७२३९२४ मा सम्पर्क गरी वा नगरपालिकाको ईमेल [email protected], [email protected][email protected]  मार्फत सुझाव दिन सकिने जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय तहले असार १० भित्र नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने प्रावधान रहेको छ ।