विकास निर्माणलाई तिव्रता दिँदैं मध्यपुर थिमि

भक्तपुर, फागुन २२
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ बालकुमारीस्थित गोपालेश्वर महा द्यः (महादेव) मन्दिर पुनर्निर्माणका लागि शनिवार शिलान्यास भएको छ । त्यस्तै वडा नं. ४ कै मनविनायक मन्दिर पुनर्निर्माणका लागि पनि शनिवार नै शिलान्यास भएको छ । कुल १९ लाख ९८ हजार ९५४ रुपैंयाको सो योजनाको नाम ताहाद्यो सँगैको गणेश मन्दिर पुनः निर्माण रहेको छ ।
यससँगै शनिवार अन्य तीन वटा योजना सञ्चालनको लागि शिलान्यास भएको छ । बहाखाबजारस्थित भिमसेन मन्दिर उत्तरको पाटी, भुलाँखेलको कुंछे फल्चा र वनदेवी परिसरको वनदेवी मन्दिर पुनर्निर्माणका लागि पनि शनिवार शिलान्यास भएको नगरपालिकाले जनाएको छ ।
यसैगरी मध्यपुर थिमिको पुरानो ऐतिहासिक भवन हो वडा नं. ४ स्थित लाय्कु दरवार । मल्लकालिन उक्त दरवार मौलिक शैलीमा तयार भइसकेको छ । लायकुकै श्वेत भैरव पाटीको छाना छाउने कार्य स्थानीयको श्रमदानका सम्पन्न भएसँगै पाटीको निर्माण पनि सम्पन्न भएको छ । थिमि शंखधरचोकको भा फल्चाको निर्माण तिव्र गतिमा भइरहेको छ ।


त्यसैगरी वडा नं. ९ को गाँखुमा बाटो बिस्तारको कार्य शुरु भएको छ । कुल ५५ लाख ७५ हजार ५९६ रुपैंया लागतको उक्त बाटो बिस्तारका लागि नगरपालिकाले ४४ लाख ९९ हजार ९४६ रुपैंया व्यहोर्ने भएको छ । वडा नं. १ को विश्वरामको घर नजिकको उकालो ढलान कार्य सम्पन्न भइसकेको छ ।
यी केही उदाहरण मात्र हुन । मध्यपुर थिमि नगरपालिकामा अहिले विकास निर्माणको कार्यले तिव्रता पाएको छ । नगरसभाले चालु आर्थिक वर्षका लागि पारित गरेको नीति तथा कार्यक्रम र बजेटमा विनियोजित योजनाहरु सञ्चालनमा नगरपालिकाले प्राथमिकता दिएसँगै नगरभित्र विकास निर्माणका कार्यले तिव्रता पाएको हो ।


नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले अचेल योजना अनुगमन र शिलान्यासमा भ्याई नभ्याई भएको छ । “वडा वडामा उपभोक्ताहरुले योजना अनुगमन र शिलान्यासको लागि दैनिक अनुरोध आउँछन । नजाउँ उपभोक्ताहरु रिसाउलान भन्ने डर, नजाउँ अन्य काममा समय दिन नसकिने अवस्था छ,” नगरप्रमुख सुरेन्द्र श्रेष्ठले भन्नुभयो ।
नगरपालिकाले अहिले पुराना सम्पदा बस्तीहरुको बाटोमा ढुंगा छपाईका साथै मठ मन्दिर पार्टी पौवाको जिर्णाद्धार, पुनर्निर्माणमा जोड दिएको र नयाँ बस्तीहरुमा सडक कालोपत्रे गर्ने, सडक बिस्तार गर्ने कार्यलाई जोड दिईरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले आउँदो बिस्काः जात्रालाई सम्पन्न गर्ने बालकुमारीदेखी बहाखाबजारसम्मको मुख्य सडकमा ढुंगा बिच्छ्याउने कार्य तिब्र गतिमा भइरहेको बताउनुभयो ।


चालु आर्थिक वर्ष १७२ वटा योजना सञ्चालनका लागि बजेट विनियोजन भएकोमा नगरस्तरीय योजना सञ्चालनका लागि ५० वटा भन्दा बढी उपभोक्ता समितिसँग सम्झौता भई योजना कार्यान्वयन भइरहेको र एक वटा सम्पन्न भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै वडास्तरीय योजना सञ्चालनका लागि करिव एक सय वटा उपभोक्ता समिति दर्ता भएकोमा ७० वटा सम्झौता भएको र ३ वटा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
सम्पदा संरक्षणकै क्रममा विगतमा हिलोमा दब्बिएर बसेका सम्पदाहरुको उत्खनन कार्यलाई जोड दिईएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो । नगरपालिकाको विनियोजित बजेटमा मध्यपुर थिमि नगरपालिका वडा न –९ निलबाराही परिसरमा रहेको पुरातात्विक महत्व बोकेको ऐतिहासिक सुसि हिटि उत्खनन् एउटा उदाहरण भएको उहाँले बताउनुभयो ।
उक्त हिटी बिगत लामोसमयदेखी निकास नभएर हिलोमा दबेर रहेको अवस्था थियो । नगरपालिकाबाट बिनियोजन भएको बजेटको कार्यान्वयनको क्रममा निकास सुधारगरि पानी कटाउने कामको शुरूवात गरि सरसफाई गरिएको उहाँले बताउनुभयो । “हिलो, पानी मुनि हाम्रो यति राम्रो सम्पदा सम्पत्ति दबिएर रहेको रहेछ उपभोक्ताका साथीहरुले सो ठाँउ सरक्षणको योजना सुनाउँदा धेरै खुशी लाग्यो,” उहाँले भन्नुभयो ।


नगरपालिकामा विकास निर्माणका योजनाले गति लिएसँगै विपक्षीहरु आत्तिन थालेको उपप्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले विकास निर्माण जस्तो जनताको प्रत्यक्ष सरोकार रहने कार्यमा पनि राजनीति गर्ने बानी परेका दलहरुले अहिले विभिन्न तरिकाले अवरोध गर्न थालेको उहाँले आरोप लगाउनुभयो ।
नगरपालिकाले विकास निर्माणका योजना सञ्चालन र उपभोक्ता समिति गठनमा पारदर्शिता ल्याउन उपभोक्ता समिति गठन कार्यविधि निर्माण गरी लागु गरिएको र सोही अनुरुप उपभोक्ता समिति गठन गरी कार्य सूचारु गरिएको दावी गर्दै विगतमा मनोमानी ढंगले आफुखुसी आफ्ना आसेपासे राखेर उपभोक्ता समिति गठन गर्न बानी परेकाहरुले अहिले गठन भएका समितिहरुको बारेमा प्रश्न उठाउने गरेको आरोप समेत लगाउनुभयो ।