चकमन्न हवेलीभित्र लोकेन्द्रबहादुर चन्द– अब कतै जानु छैन

सागर चन्द, ४ फागुन, काठमाडौं 

पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ ।

रंग खुइलिएको चन्द हवेलीमा कुनै चहलपहल छैन । यस्तो लाग्छ, समय यहाँ आएर टक्क अडिएको छ । कसोकसो, बरु साहित्य छ- जसले चन्दको वृद्ध कायामा बस्न आइपुगेका पट्यारलाग्दा दिनहरू कटनी गर्न सघाउँछ ।

उतारचढावले भरिएको विगतका सम्झनामा तैरिंदै दिन बिताउँछन् चन्द । माथिल्लो तलाबाट मुस्किलले तल्लो तलामा ओर्लिने चन्दलाई कतै जानु छैन । ‘तपाईं जस्तै कहिलेकाहीं भेटघाट गर्नेहरू यहीं आउँछन्’, चन्द निरपेक्ष सुनिन्छन् ।

तोडफोड र जोडजाड गरेरै सही, चन्दले बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४ सिट सहित संसदमा छ । तर, चन्द निवासमा भने यो जितको कुनै रौनक छैन । सुनसान हवेलीमा ८४ लागेका लोकेन्द्रबहादुर चन्द ‘रिटायर्ड राजनीतिक’ जीवन बिताउँदैछन् ।

राजनीति लोकसेवा पास गरेर आर्जेको जागिर होइन । त्यसैले त यसमा कुनै सीमा छैन । कम्मरको समस्याले थला नपारेको भए गएको चुनावमा ‘नो नट अगेन’को सूचीमा सायद चन्दको पनि नाम आउँथ्यो होला । ‘समानुपातिकमा राख्छौं भनेका थिए साथीहरूले’ इन्कार गरें, ‘अब मभित्र त्यो सामर्थ्य छैन । हेल्म अफ अफेयर्सबाट म बाहिरिइसकें ।’

काठमाडौंबाट वकालत गर्न बैतडी छिरेका चन्द वकालतमा स्थापित हुनकै लागि पञ्चायतको सदस्य भए । २०२७ सालमा जिल्ला पञ्चायत बैतडीको सभापति भए । ‘त्यतिञ्जेलसम्म पनि म वकालतमै थिएँ’ राजनीतिले टुटाएको आफ्नो वकालतसँगको साइनो कोट्याउँछन्, ‘त्यसपछि राजनीतिले तानेर यहाँसम्म ल्याइपुर्‍यायो ।’

राजनीतिको नशा हेर्नुहोस् उनले वकालत छाडे । ‘राजनीतिमा एकबाजी पसिसकेपछि निस्कन गाह्रो हुँदोरहेछ’ हवेली जस्तै पुरानो भइसकेको बेतको कुर्सीलाई कम्मरको सहारा बनाउँछन् चन्द ।

चन्दको पुरानो हवेलीमा उनको राजनीतिक विरासत सम्झाउने प्रशस्तै फोटो झुण्ड्याइएका छन् । शानदार विगतको याद दिलाइरहने ती फोटाको भीडमा एउटा छोपेर राखिएको ‘म नै राप्रपाको वैधानिक अध्यक्ष हुँ’ लेखिएको पत्रिकाको कटिंग छ ।

‘त्यो सूर्यबहादुर थापाजीसँग अध्यक्ष विवाद हुँदाको समाचार हो’ चन्द पत्रिका कटिंगतिर नजर डुलाउँछन् । २०७० सालमा आलोपालो राप्रपाको नेतृत्व गर्ने सहमति थापाले तोडेको आरोप लगाउँदै चन्दले २०७१ मा आफैंलाई राप्रपा अध्यक्ष घोषणा गरेका थिए ।

२०४७ सालमा राप्रपा स्थापना भएदेखि नै चन्द र थापा राप्रपा नामको खोलाका दुई किनार थिए । थापा र चन्दको मिल्ती कहिल्यै भएन । ‘हामी एकै खोलाका दुई किनार भयौं’ चन्द हाँस्छन् । विगतका ती राजनीतिक लफडा र खिचातानीप्रति चन्दलाई कुनै पश्चात्ताप छैन । न ती राजनीतिक लफडाप्रति कुनै मोह छ । ‘मैले आफूले गल्ती गरे जस्तो लाग्दैन’ एकछिन टोलाए चन्द, ‘अरूलाई पनि त्यस्तै लाग्दो हो । थापा (सूर्य बहादुर) जीलाई नि यस्तै लाग्यो होला ।’

चन्द र थापा दुई पञ्च मिलेर बनेको राप्रपा स्थापनादेखि अहिलेसम्म टुटफुट भोगिरहेको छ । टुटफुटको लामो शृंखलाका एक खेलाडी चन्द ‘राप्रपाको नियति नै यस्तै हो कि’ भनेर चित्त बुझाउँछन् ।

पद, सत्ता र शक्तिका लागि टुक्रिरहने राप्रपामा आफैंले विताएका दिन सम्झिन्छन् चन्द । ‘विमति सल्टाउन संवाद गरिनँ कि जस्तो लाग्छ’ राप्रपा टुटफुटमा आफ्नो गल्ती औंल्याउँछन् चन्द, ‘मैले संवाद गरिनँ । मत-भिन्नताका विषयमा संवाद गर्ने विषयमा मेरो कमजोरी भयो भन्ने लाग्छ ।’

आफ्नो यही कमजोरी महसुस गरेका चन्दले कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि मिलाउन खोजेका थिए । २०७८ सालमा भएको महाधिवेशनपछि चिढिएका कमल थापालाई राप्रपामा फर्काउने प्रयासको चन्द साक्षी थिए । राप्रपा नेताहरू बुद्धिमान तामाङ र निरञ्जन थापा चन्द निवासमा पुगेका थिए । ‘मलाई साक्षी राखेर एकताको वक्तव्य तयार पारिंदैथियो । उता थापाजीले पार्टी छाडेको खबर आयो’ चन्द हाँस्छन्, ‘मेरै अगाडि गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए ।’ त्यसैले त चन्द भन्छन्, ‘टुटफुट हुनु राप्रपाको नियति जस्तै भयो ।’

६० वर्ष पुगेपछि राजनीति छाड्ने सोच बनाएका चन्द ७० कटेपछि मात्र राजनीतिबाट उम्किन सके । पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा तय गरेका चन्दलाई ‘सत्ताको बाह्रौं खेलाडी’ पनि भन्ने गर्छन् । तर, चन्दलाई भने आफू राजनीतिक खेलाडीका रूपमा चिनाउन इच्छुक छैनन्, ‘बाह्रौं खेलाडी भन्ने मेरो निबन्ध संग्रह हो । खासमा म त्यस्तो खेलाडी होइन ।’

२०४०, २०४६, २०५३ र २०५९ सालमा गरेर चारपटक प्रधानमन्त्री हुन आफूलाई आइलागेको चन्दको बुझाइ छ । भन्छन्, ‘त्यस्तो हुनुथियो, भयो । मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर कतै हारगुहार गर्न गइनँ ।’ प्रधानमन्त्रीका लागि हारगुहार नगरेको दाबी गर्ने चन्द पञ्चायतमा दुई पटक र बहुदलमा दुई पटक प्रधानमन्त्री भए ।

पञ्चायतमा प्रधानमन्त्रीले गर्ने हरेक निर्णयमा राजाको सहमति चाहिन्थ्यो । ‘उच्च तहको नियुक्ति, सरुवा सबै राजाबाट स्वीकृत गराएर मात्र गर्न पाइन्थ्यो’ चन्द सुनाउँछन्, ‘मन्त्रिमण्डलमा प्रधानमन्त्री एक्लै जस्तो हुन्थ्यो ।’

‘बहुदलमा प्रधानमन्त्री एक्लै हुन्थेन, दल हुन्थ्यो । आफ्नो दलका मन्त्री हुन्थे र सरकार चलाउन सजिलो हुन्थ्यो’, चन्दले सुनाए ।

राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि प्रधानमन्त्रीत्व सम्हालेका चन्द ज्ञानेन्द्रका सल्लाहकारका कारण राजतन्त्र हटेको निष्कर्ष सुनाउँछन् । चन्दको निष्कर्ष छ, ‘धेरै अवसर यस्ता थिए जहाँ पार्टी र राजाको बीचमा सम्झौता हुनसक्थ्यो । तर ती मौका गुमाइए, यसमा ज्ञानेन्द्रका सल्लाहकारको बढ्ता दोष छ जस्तो लाग्छ ।’

ज्ञानेन्द्रको व्यक्तित्व राजनीतिक नभएको पनि चन्दको बुझाइ छ । ‘ज्ञानेन्द्रमा म राजा हुन्छु भन्ने सोच कहिल्यै पनि थिएन । मैले कुनै दिन मुलुक चलाउनुपर्छ भन्ने सोच नै भएन’ चन्दको बुझाइ छ, ‘उहाँमाथि त राजा हुन आइलाग्यो । वीरेन्द्रको सबै परिवार बितेपछि उहाँ -ज्ञानेन्द्र)ले विरक्तिएर एकपटक अब म पनि सबै चिज छाडेर कतै गएर बस्छु समेत भन्नुभएको थियो । पछि हामीले सम्झायौं ।’

यसपछि चन्द ज्ञानेन्द्र र उनको सन्दर्भमा धेरै खुल्न चाहेनन् ।

लोकन्थलीको हवेलीमा केही सहयोगीको साथमा बुढेसकाल बिताइरहेका चन्दमा शक्ति र पदप्रतिको मोह भंग भइसकेको छ । ‘पदमा छँदा सबैको हाईहाई हुन्छ । पद छाडेर निस्केको दिनदेखि कसैले फर्केर हेर्दैनन्’, उनी आफ्नो यथार्थसँग परिचित छन् । पदमा हुँदा र त्यहाँबाट बाहिर निस्कँदा जीवनका दुई पक्ष देखिन्छन् ।

‘पदमा हुँदा त बिहानदेखि बेलुकासम्म भेट्न खोज्नेहरूको ताँती हुन्छ’ चन्द सम्भिmन्छन्, ‘अनेकथरी मान्छे हात जोड्दै आउँछन् । अब अहिले हेर्नुहोस् त सुनसान छ’ तर अब चन्दमा कुनै पनि पद र शक्तिमा पुग्ने चाह छैन, ‘कसैले लगेर कुनै पदमा राख्यो भने पनि म हात जोडेर त्यहाँबाट भाग्छु । पुग्यो मलाई ।’

२०५१ सालको चुनावबाट २० सिट जितेर संसदमा निणर्ायक शक्ति बनेर उदायो राप्रपा । यो चुनावपछि बनेको संसद र त्यसले सिर्जना गरेको राजनीतिक खेललाई अस्थिर संसदीय राजनीतिको नेपाली सुरुवात भन्ने गरिन्छ । यो खेलका मुख्य खेलाडीमध्ये एक थिए, चन्द ।

एमालेको सरकार ढलेपछि शेरबहादुर देउवा प्रधानमन्त्री भए । तर, देउवालाई सत्ताबाट हटाउँदै चन्द प्रधानमन्त्री भए । फेरि, चन्द विरुद्ध अविश्वासको प्रस्ताव आयो उनकै प्रतिस्पर्धी सहयात्री सूर्यबहादुर थापाबाट । सरकार ढाल्न कस्सिने राप्रपा सांसदलाई लक्षित गर्दै चन्दले नेपाली राजनीतिमा पदलोलुपतालाई बयान गर्ने नयाँ शब्द ‘मुसा प्रवृत्ति’ ‘कोइन’ गरे ।

राजनीतिलाई नयाँ शब्दावली दिएका चन्द राजनीतिको वक्ररेखाबाट उम्केर साहित्यतिर सोझिएका छन् । २०५४ सालमा विसर्जन कथासंग्रहका लागि मदन पुरस्कार पाएका चन्दको प्रेम साहित्य नै हो । ‘राजनीति त आइलागेको न हो । खासमा म साहित्यिक मान्छे हुँ’, चन्द प्रशन्न सुनिन्छन् ।

२०४१ सालमै ‘नेताका साथी’ नामक नाटक लेखिसकेका चन्दलाई शक्ति र पदहीन नेताहरूको नियति थाहा छ । त्यसैले त उनी भन्छन्, ‘अब मलाई रुचि छैन । कुनै आसक्ति छैन । बरु म अचेल लेख्न रमाउँछु । पढ्न रमाउँछु । म राजनीतिक गफ भन्दा साहित्यिक गोष्ठीमा बढ्ता रमाउँछु । यसमा मेरो दिल लाग्छ ।’ मदन पुरस्कार पाएका सबैजसो कृति पढ्ने चन्दले हालसालै आरके मैनाली, केशरजंग रायमाझी र भरतमोहनको जीवनी पढिसके ।

‘आफ्ना प्रतिस्पर्धी सहकर्मी सूर्यबहादुर थापाको किताब पढ्नुभएन ?’

‘बजार गएर किन्न सक्ने अवस्था छैन’ चन्द उदास सुनिन्छन्, ‘कसैले ल्याइदियो भने पढौंला ।’ राजनीतिलाई दिमाग र साहित्यलाई दिलको संज्ञा दिने चन्द यतिखेर दिमागलाई धेरै दुःख दिने मूडमा छैनन् । दिलसँगै उनको बढ्ता मोह छ, लगाव छ ।

सहयोगीको सहारामा हिंडडुल गर्ने चन्द ढाडको समस्याबाट ग्रसित छन् । ‘यो ढाडको समस्या निको हुने होइन, यसले तुरुन्तै लैजाने पनि होइन’ बेतको पुरानो कुर्सी सुमसुम्याउँछन् चन्द, ‘यसले नलगुञ्जेलसम्म म साहित्य पढ्छु ।’ यति भनेर चन्दले सहयोगी पुकारे ।

सहयोगीको सहारामा कुर्सीबाट उठेका चन्द अस्तव्यस्त भइसकेको आफ्नो पुरानो हवेलीको कोठाभित्र छिरे ।

तस्वीर : विकास श्रेष्ठ

अनलाइनखबरबाट