प्रिन्स ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा

भक्तपुर, पुस २९
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा पुगेका छन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् । प्रिन्सले पाएको सफलता ओलम्पिक मान्यता प्राप्त कुनै पनि खेलको खेलाडी वरियतामा प्राप्त अहिलेसम्मकै उच्च सफलता हो ।
यस अघिको उनी तेस्रो स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता एक वर्षपछि परिवर्तन भएको हो । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।
प्रिन्सको वरीयतामा १० हजार ४ सय अंक छ । मलेसियाका जस्टिन हो ९५९० अंकसहित दोस्रो स्थानमा तथा मलेसियाकै मोहम्मद रजिफ ६९२५ अंकसहित तेस्रो स्थानमा छन् । प्रिन्स जुनियर बरियतामा डबल्सतर्फ नवौं स्थानमा रहेको छ ।
बीडब्लुएफले पुरुषतर्फ जुनियर र सिनियरतर्फ गरी दुई स्पर्धामा विश्व वरीयता सार्वजनिक गर्दै आएको छ । महिलातर्फ नेपालकी रशिला महर्जन १९ औं स्थानमा तथा डबल्समा सातौं स्थानमा रहेकी छिन् ।