निसन्देह ः निषेधाज्ञा नाम मात्रको भएको छ । चोक, टोल, पसल, बजार, सरकारी कार्यालयलगायतमा चहलपहल उस्तै गरी बढेको छ । निषेधाज्ञा खुकुलो बनेसँगै बढेको चहलपहलले स्वास्थ्य जोखिम पनि उत्तिक्कै बढेको छ । किनकि बढ्दो भीडका कारण कोभिड बढ्ने सम्भावना उत्तिक्कै रहेको स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रका विज्ञहरु चिन्ता गरिरहेका छन् । सबैतिर बढेको भीडले स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको पालनामा पनि बेवास्ता गर्न थालेका छन् । कतिपयको मुखमा मास्क देखिँदैन, अधिकांश भौतिक दूरीको ख्याल नगरी हिँडेका देखिन्छन्, गफिएका देखिन्छन् । यो दृष्य हेर्दा अवस्था सामान्य बनेको भान हुन्छ । तर, कोरोना भाइरसको दिनदिनै बढेको संक्रमणको संख्याले भने जोखिम उस्तै गरी बढेको आभाष हुन्छ । यो अवस्था हुँदा पनि ख्याल गरिएको छैन । यो कतै भयावह रुप लिने मौन समय त बनिरहेको छैन ? मनमा प्रश्न उठ्छ ।
निषेधाज्ञाका दिनहरु सकिएका छैनन्, यो जारी गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय हरेक दश दिनमा यसको म्याद लम्ब्याउँदै छ । तर, निषेधाज्ञाको न्यूनत्तम विषयलाई समेत सर्वसाधारणदेखि समाजका बुज्रुकले समेत ख्याल गरेका छैनन् । निषेधाज्ञामा यो गर्न पाइन्छ, यो गर्न पाइँदैन भनेर जिल्ला प्रशासन कार्यालयले तीन पाने सूचना प्रकाशन गर्छ तर त्यसको कार्यान्वयन भएको, नभएको विषयमा अनुगमन गरिएको छैन । प्रशासन पनि उदास देखिएको अनुभव गर्न थालिएको छ । यसर्थ पनि निषेधाज्ञा नाममात्रको सावित भइरहेको छ । प्रशासनका निर्णयहरु कागजी खोस्टामा रुपान्तरण भइरहेका छन् । यतातर्फ सम्बन्धित तह र निकायले ख्याल गर्न सके पनि स्वास्थ्य जोखिमको बढ्दो ग्राफलाई छेक्न सकिने सम्भावना छ । तर, सम्बन्धित निकाय यसबारेमा मौनप्रायः छ ।
लापरहबाही बढिरहेको छ । खोपजस्तो अत्यावश्यक चीज ग्रहणका लागि बढेको चासोले खोप केन्द्रहरुमा भीड बढेको छ । त्यो भीड नै कहिँ कोरोना संक्रमणको कारण पो बन्छ कि ? भन्ने चिन्ता पनि एकातिर छ । अर्कोतिर मानिसहरु (जो बढी लापरवाही गर्छन् र गर्न रुचाउँछन्) खोप केन्द्रमा भीड गर्न हुने अन्यत्र गर्न नहुने भन्ने कुतर्क गरी आफै–आफैंमा दंग भइरहेका छन् । यो मनोविज्ञानकै कारण कोरोनाले भयावह रुप लिइरहेको छ । यसको अर्थ त्यो भीडलाई व्यवस्थित नगर्ने भन्ने होइन, त्यसलाई व्यवस्थित गर्नुको विकल्प छैन । अर्को अहिले साउन महिना, विशेष रुपमा हरेक सोमबार महादेवको दर्शन गर्ने, पूजा अर्चना गर्ने चलन पनि बढेको छ । देवालय, शिवालयहरुमा महिला दर्शनार्थीहरुको भीड थेगि नसक्नुको छ । त्यसलाई व्यवस्थित गर्नका लागि प्रहरी बाहेक अरु कोहीको चासो देखिँदैन । प्रहरीको एकोहोरो सिठ्ठी फुकाइले मात्र त्यो सम्भव छैन । तर, स्थानीय भने त्यो भीड देखेर दंग छ, मक्ख छ । यस्तो बेलामा स्थानीय तह, क्षेत्र, टोल र बस्तीमा भएका सामाजिक संघसंस्था र सहकारीलगायतले स्वयम्सेवी रुपमा जनचेतना जगाउने काम, भीडलाई सुरक्षित तरिकाले व्यवस्थित गर्ने काम र स्वास्थ्य मापदण्ड अपनाउनका लागि हौसला दिने काम गरेको भए सम्भावित जोखिमलाई कम गर्न बल पुग्ने थियो, विडम्वना हामी रमिता हेर्न मात्र माहिर छौं ।
हो, जहाँ पनि भद्रगोलको अवस्था छ । कुनै राजनीतिक दलले कुनै विषयको विरोधमा आयोजना गरिने जुलुस, ¥याली तथा विरोध सभाको दृष्य हेर्दा कोरोनाविहीन समयमा रहेको भान हुन्छ । उनीहरुको प्राथमिकता मास्क, सेनिटाइजरमा नभइ आफ्नो स्वार्थको विषयमा केन्द्रीत हुन्छ । अहिलेको मूल मुद्दा नै कोरोनाविरुद्धको लडाइँ हुनुपर्नेमा त्यसलाई प्राथमिकतामा राखेको देखिँदैन । भिडभाड गर्नु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नु नै कोरोना संक्रमणको प्रमुख कारण ठहर भइरहेको समयमा पनि यसलाई बेवास्ता गर्नु कदापि पनि मानव हितकर विषय हैन ।
यही बीचमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको संकेत गर्दै अझ बढी सचेत हुन आग्रह गरेको छ । मन्त्रालयले अहिले पनि मास्क लगाउने कार्यलाई दैनिकी नबनाएको भन्दै मास्क अभियान थालनी गरेको छ । अरु केही गर्न नसके पनि कम्तिमा मास्क लगाउने कार्यलाई दैनिकी बनाउँदा मात्र पनि त्यसले जोखिम कम गर्न सघाउने भएकाले हामीले मास्क अभियानलाई सफल बनाउनु पर्छ । त्यो अभियान अरु कोहीका लागि नभएर व्यक्ति–व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि हो । यसलाई मनन् गरी दैनिक व्यवहारमा जोड्नु अहिलेको आवश्यकता हो ।
कोरोना संक्रमणले प्रत्येक व्यक्तिलाई असर, प्रभाव पारे पनि हामीमा लापरबाही गर्ने प्रवृत्ति नघटेको यथार्थ छिपेको छैन । यसको असर समाजका प्रत्येक क्षेत्रमा परेको छ । आर्थिक क्रियाकलापहरु थप्प भएका छन् । यसले हाम्रो नियमित दैनिकी सञ्चालन गर्न समेत अफ्ठ्यारो स्थिति सिर्जना भएको छ । यो सबैले बुझेकै विषय र सन्दर्भ भएर पनि हामी लापरवाही गर्नमै रमाइ रहेका छौं । यो स्वभाव र दैनिकी पक्कै पनि राम्रो दिनको संकेत होइन । बेलैमा हामी सचेत हुनैपर्छ । कोही, कसैको लहलहैमा नलागी आफै सचेत हुनुको विकल्प छैन । स्वास्थ्य नै मुख्य सम्पत्ति भन्ने सावित भइरहेको समयमा पनि यो किसिमको लापरबाहीलाई हामी स्वयम्ले आत्म अनुशासित भएर पालना नगरी हुन्न । समाजलाई स्वस्थ राख्नका लागि व्यक्ति पनि स्वस्थ हुन जरुरुी छ । अहिलेको समयमा नागरिक भावनालाई अझ व्यवहारमा प्रयोग गर्न बिर्सनु हुन्न । स्वास्थ्य जोखिम कम गर्नका लागि भूमिका खेल्नेलाई सरकारले पनि प्रोत्साहन गर्नु पर्छ । प्रहरीले अहिले बाटो, सडक, चोकमा उभिएर प्लेकार्ड बोकी जनतालाई प्रश्न गरिरहेका छन्, ‘तपाईंको मास्क खोई ?’ यो प्रश्न उसले सोध्नुपर्ने अवस्था आउन नदिनका लागि हामीले आफ्नो जिम्मेवारी के हो ? त्यो बिर्सनु हुन्न ।
आइतबारमात्रै सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरी नेपाली नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र सोही अनुसार कार्यनीति बनाउने कार्यक्रम तय गरेको छ । कार्यक्रमले आगामी चैतभित्र सबै नेपालीहरुलाइै खोपको प्रबन्ध गर्ने तय गरेको छ । यो सकारात्मक विषय हो । तर सरकारले त्यसलाई कागजमामात्र सीमित गर्नु हुन्न । त्यसलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कोरोनामुक्त र कोरोनाको खोप पाएको देशको परिचय बनाउनका लागि युद्धस्तरमा काम गर्नुपर्छ । ओलीको सरकार भए पनि यस्तै हो, अहिले पनि यस्तै हो भन्ने जनताको मनोभावना बुझेर ओलीले भन्दा फरक, जनमुखी काम गरी नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्ने कुरालाई सरकारले उच्च प्राथमिकतामा राख्नै पर्छ । त्यसले मात्र सरकारको साख गिर्ने छैन । नत्र, उही शैलीले जनताले राहतको अनुभव गर्ने छैनन् ।
कोरोना कहरबाट मुक्त हुने प्रयास कुनै पनि एकल संस्था, निकायको पहलले मात्र सम्भव हुन्न । यसका लागि व्यक्तिव्यक्तिमा नयाँ जागरण आउनु पर्छ । व्यक्ति स्वयम्मा अनुशासित भए, उसले आफ्नो नागरिक कर्तव्य र जिम्मेवारीलाई व्यवहारमा उतारेको खण्डमा कोरोनाविरुद्धको सामूहिक लडाइँ जित्न सकिन्छ । एक व्यक्तिकै कारण पनि पूरा समाजलाई असर पुग्न सक्छ भन्ने कुरा व्यक्तिले मनन् गर्नु अहिलेको आवश्यकता हो । यसैले भिडमा जानेहरु, मन्दिरमा गएर भिडभाड गर्नेहरु, मास्क लगाउन आनाकानी गर्नेहरु, स्वास्थ्य सुरक्षालाई बेवास्ता गर्नेहरुले यसलाई बढी मनन् गर्नुपर्छ ।