चाँगुनारायणमा वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी

भक्तपुर, साउन २५
चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी गठन गरेको छ । वडा नं. १ बाट शुरु भएको मिलन चौतारी नगरपालिकाका २, ५ र ८ वडामा गठन भइसकेको छ । अन्य वडामा पनि चौतारी गठनका छलफल भइरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक वडामा मिलन चौतारी गठन गर्न ९ लाख रुपैंया विनियोजन गरेको छ । नगरपालिकाले प्रत्येक चौतारीलाई एक लाख प्रदान गर्ने र चौतारीले स्वईच्छाले खर्च गर्न सक्ने गरी कार्यविधि निर्माण गरिने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।
उहाँले चौतारी सञ्चालन गर्ने कार्यविधि निर्माण भइरहेको र कार्यविधि निर्माण भइसकेपछि समितिका पदाधिकारीहरुकै नाममा पैसा जम्मा गरिदिने योजना रहेको उहाँले बताउनुभयो ।
पुराना पुस्तासँग भएका विभिन्न ज्ञान, सिप, अनुभव र प्रविधि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, समय कटाउन भजनकिर्तन गर्ने, परिवारमा एकलिएको अनुभुति नगराउन, सुखदुःख सातासात गर्ने चौतारी बनाउन, केही उत्पादन मुलक सिपको विकासको उद्देश्यले यो कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।
यसबाट स्थानिय सरकारलाई ज्येष्ठ नागरिकको हितका लागि केही सल्लाह, सुझाव संकलन गर्नुका साथै समाजमा ज्येष्ठ नागरिक प्रतिको हेयको भावना मेटिने र उनीहरुको सम्मान, मान मर्यादा राख्ने संस्कृतिको विकास लागि यो कार्यक्रम तय नगरप्रमुख मिश्रले बताउनुभयो ।