भक्तपुर, जेठ ३१
प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिपमा झापाका रिसोन थापा र रिया श्रेष्ठ च्याम्पियन बनेका छन । बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रतियोगितामा रिसोनले ९ चरणको खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेका हुन । उनले ९ अंक प्राप्त गर्दै नगद ४० हजारसहित आकर्षक ट्रफी स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गरे ।
यस्तै श्रीलंकामा भएको एसियाली चेसमा रजक पदक प्राप्त गरेका सीएम पुरुषोत्तम सिलवालले ८ अंक जोडेर दोस्रो बन्दै नगद २५ हजार प्राप्त गरे । प्रतिस्पर्धामा समान ७ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा प्रतिक सुवेदी तेस्रो हुँदैं नगद १० हजार प्राप्त गरे ।
समान ७ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा ललितपुरका अविक शाह चौथो स्थानमा रहँदै नगद ७ हजार ५ सय, काठमाडौँका अग्रिम सैजु पाँचौं स्थानमा रहँदैं नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी जुनियर छात्रातर्फ काठमाडौँका रिया श्रेष्ठले ७ चरणको खेलमा पाँच जित र दुई बराबरी नतिजासँगै ६ अंकका साथ उपाधि जित्न सफल भइन । छात्रा तर्फ अपराजित रहँदै उपाधि जितेकी रियाले नगद रु. ४० हजार, ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा बाँकेकी ईशा गिरीले ५.५ अंक टाइब्रेक ३३ प्वाइन्ट जोडेर द्वितीय स्थान हासिल गरे । ईशाले नगद पुरस्कार २५ हजार, सिल्भर मेडल प्रमाणपत्र प्राप्त गरे ।
यस्तै दक्षिणकाली नगरपालिकाका एन्जल महर्जनले समान ५.५ अंक टाइब्रेक ३१ प्वाइन्ट बनाउँदै तृतीय बन्न सफल भए । उनले नगद पुरस्कार १० हजार प्राप्त गरे ।
यसै स्पर्धामा काठमाडौँका दानिसा पुरीले ५.५ अंक टाइब्रेक २७.५ प्वाइन्टमा सीमित रहँदै चौथो स्थान प्राप्त गरे । उनले नगद पुरस्कार ७ हजार ५ सय हात पारे । काठमाडौँकै प्रिसियस अधिकारीले पाँच अंक जोडेर पाँचौं स्थानमा उभिँदै नगद पुरस्कार ५ हजार हात पारे ।
छात्रतर्फ यु–८ काठमाडौँका शुभाङ्ग प्रधान, यु–१० आस्विक पोखरेल, यु–१२ समृद्ध श्रेष्ठ, यु–१४ ओस्कार पन्थी र यु–१६ आद्यान्त काफ्ले र यु–१८ युनिक गौतम उत्कृष्ट बने ।
छात्रातर्फ यु–१० अग्रता आचार्य, यु–१२ निहाना श्रेष्ठ, यु–१४ नेलिसा ओझा, यु–१६ ओजस्वी श्रेष्ठ र यु–१८ ग्लोसी श्रेष्ठ उत्कृष्ट बने ।
त्रिज्योति स्कुलमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा संयोजक दीपक तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, प्रवक्ता राजु ताम्राकार र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।