भक्तपुर, जेठ २६
मध्यपुर थिमिका बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठको सोमवार बिहान असामयिक निधन भएको छ । श्रेष्ठको ७३ वर्षको उमेरमा आफनै निवासमा निधन भएको हो ।
लामो समयदेखी मधुमेहको नियमित औषधि सेवन गरिरहेका श्रेष्ठको स्वास्थ्यमा अन्य समस्या थिएन । नियमित दैनिकी जस्तै बिहान बजार गई दुध ल्याएर चिया बनाएर खाएका श्रेष्ठ आफ्नै घरको कौशीमा अचानक बेहोश भई लड्नु भएको र त्यही कारण निधन भएको पारिवारिक श्रोतले बताए ।
मध्यपुर थिमि ४ तछुटोल निवासी श्रेष्ठ मध्यपुर थिमिका पुराना बामपन्थी नेता हुन । २०१८ सालदेखि बामपन्थी राजनीतिमा क्रियाशिल रहेका श्रेष्ठले एकता केन्द्र र जनमोर्चा हुँदै नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय रहेका थिए ।
उहाँले वि. स २०४८ सालको स्थानीय निकायको निर्वाचनमा बालकुमारी गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचन लडेका थिए भने भक्तपुर क्षेत्र नं. २ को संसदीय निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । उहाँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत हुन ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल श्रेष्ठ हाल बालकुमारी विष्णुवीर सामूदायिक वन उपभोक्ता समितिको अध्यक्षको रुपमा सक्रिय थिए । उहाँ भूमि ब्यवस्था आयोग जिल्ला कार्यालय भक्तपुरका पूर्व सदस्य समेत हुनु ।
उहाँको पार्थिव शरीरलाई सोमबार नै दधिकोटको दक्षिण बाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँकी धर्मपत्नीको भने यसअघि नै निधन भइसकेको छ ।