भक्तपुर, जेठ २६
पोर्चुगलले स्पेनलाई हराउँदैं युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो ।
क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन । अतिरिक्त समय सुरु हुनु अगावै मैदानबाट बाहिरिएका पोर्चुगल कप्तान रोनाल्डो जित निश्चित भएपछि मैदानको छेउमा घुँडा टेकेर खुसीको आँसु झारे । जितको क्षण तब आयो जब रुबेन नेभेसले निर्णायक पेनाल्टी गोल गरे । त्यसअघि डिओगो कोस्टाले स्पेनका आल्भारो मोराटाको कमजोर प्रहार रोकिदिएका थिए ।
२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको डिफेन्स लाइनले बल क्लियर गर्न असफल भएको थियो ।
तर त्यो अग्रता धेरै समय टिक्न सकेन । पाँच मिनेटमै नुनो मेंडेसले कुनाबाट गरेको तीव्र प्रहारले उनाई साइमनलाई पराजित गर्दै बराबरी गोल गरे ।
गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।
तर रोनाल्डो फेरि पोर्चुगलका उद्धार गरे । उनले मार्क कुकुरेलालाई पछाडि छोड्दै नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै नजिकबाट गोल गरे ।
पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाए । अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो ।