भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले वृक्षारोपण गर्नुका साथै हरियाली प्रवद्र्धन कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाको वातावरण शाखाको आयोजनामा वडा नंं १ लोहकिल्थलीस्थित विपि बाल उद्यानमा वृक्षारोपण गरी हरियाली प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गरेको हो ।
सो क्रममा उद्यानको सौन्दर्यकरण हुने गरी विभिन्न प्रजापतिका १८१ वटा बिरुवा रोपिएको वातावरण शाखा प्रमुख गणेशदेवी प्रजापतिले जानकारी दिनुभयो ।
शाखाका सहायक कृष्णा श्रेष्ठका अनुसार कपुर २० वोट, बेगन बेली ठूलो २, हेबिसकस ३०, असारे फुल २०, ज्याकोरोदा गोल्डमोहर २०, बेगन बेली सानो ३८, धुपी २०, पारिजात ४, गुलाव २६ र क्रिसमस ट्री एउटा रोपिएको हो ।
वृक्षारोपण शुभारम्भ गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको सौन्दर्यकरणका लागि पनि नगरपालिकाले वृक्षारोपणलाई प्राथमिकता दिँदैं आइरहेको बताउनुभयो । उहाँले नगरका खुल्ला क्षेत्रको संरक्षणका लागि बस्ती नजिक पार्क र उद्यानको रुपमा नगरवासीलाई टहल्ने र बालबालिका खेल्ने ठाउँको विकास गरिने बताउँदैं बस्ती देखी टाढाको खुल्ला क्षेत्रमा हरियाली प्रवद्र्धन अन्तर्गत ठूलो हुने प्रजातिको बिरुवा रोप्ने योजना रहेको बताउनुभयो ।
उहाँले फोहर मैला संकलनका लागि दैनिक २० जना सफाईकर्मी, १३ जना द्रुत सहयोगी ४ सवारी चालक, टिप्पर ठूलो २, हात्ति गाडी ३ वटा परिचालन, जेट मेसिन १, व्याको लोडर २ वटा परिचालन गरिरहेको जानकारी दिँदैं चार वटा नीजि क्षेत्र परिचालन गरी दैनिक रुपमा करिब ४५ टन फोहर संकलन तथा व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।
वृक्षारोपण अघि उद्यानमा दिव्यश्वरी सहयोगी हातहरु, नेप्सेम्याक, नगरको द्रुत सहयोगी टोली, नगर प्रहरी र स्थानीयको सहयोगमा सरसफाई गरिएको थियो ।