भक्तपुर, जेठ २०
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको राजधानी बैंकमा सोमवार राती सम्पन्न खेलमा नेपाल २–० ले पराजित भएको हो । यसअघि गत १७ गते सम्पन्न अनौपचारिक मैत्रीपूर्ण खेलमा पनि नेपाल १–० ले पराजित भएको हो ।
अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा विण्डो अन्तर्गत थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । नेपालले दुवै गोल दोस्रो हापमा खाएको हो । पहिलो हाफमा नेपालले आक्रमणमा केही अवसर सिर्जना गरेता पनि दोस्रो हाफमा भने दवाबमा परेको थियो ।
थाइल्याण्डले दोस्रो हाफको ५९ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो । झन्डै ३० यार्ड टाढाबाट मोंग्कोल्दीले पहिलो बारतर्फ प्रहार गरेको फ्रिकिकमा नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले जम्प गरेर बल रोक्ने प्रयास गरेपनि बलसम्म पुग्न नसक्दा गोल भएको हो ।
त्यसपछि ७५ औं मिनेटमा थाइल्याण्डले काउन्टर अट्याकमा गोल थप्यो । ३ भर्सेस ३ को अवस्थामा दायाँ विंगबाट आएको क्रसलाई ६ यार्ड बक्सभित्र अनमार्क रहेकी रोडथोंगले पहिलो टचमै बललाई गोलमा परिणत गरेकी थिइन् ।
नेपालले अर्को महिना एएफसी महिला एसियन कपको छनोट खेल्दैछ । उज्वेकिस्तानमा हुने प्रतियोगितामा नेपालले आयोजकसँगै लाओस र श्रीलंकाको सामना गर्नेछ । चार टोली समूहको शीर्षस्थानमा रहने टोलीले सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा स्थान पक्का गर्नेछ ।