भक्तपुर, जेठ २०
करण केसीको अलराउण्डर प्रदर्शन मद्दतले आइसिसी विश्वकप लिग टु मा नेपालले स्कटल्याण्ड माथि रोमाञ्चक जित हासिल गरेको छ । लिग टु अन्तर्गत स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सोमवार राती सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १ विकेटको सनसनीपूर्ण जित निकालेको हो । लिग टु मा यो नेपालको तेस्रो जित हो ।
स्कटल्याण्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जितका लागि अन्तिम बलमा १ रन आवश्यक थियो । मार्क वाटले अन्तिम बल वाइड फालेपछि नेपालको जित भएको हो ।
अन्तिम बलमा करण सिंगल रन लिन दौडिदा विकेटकिपरले रिजन ढकाललाई रनआउट गरेका थिए तर अम्पायरले वाइड दिएपछि नेपालले रोमाञ्चक जित हासिल गरेको हो ।
करणले नटआउट रहँदै अर्धशतक बनाए । ४१ बलमा ३ चौका र ४ छक्कासहित ६५ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएर टोलीलाई राम्रो सुरुवात दिलाए । कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे ।
कुशलले अर्का ओपनर आसिफ शेखसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे । आसिफ ३३ बलमा २ चौकासहित २० रन बनाए ।
गुलशन कुमार झाले ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन जोडे । टोलीका लागि सामूहिक प्रदर्शन गर्नेमा भीम सार्कीले ४८ बलमा ३ चौकासहित ४० तथा कप्तान रोहित कुमार पौडेल ५६ बलमा ३७ रन थपे ।
स्कटल्याण्डका ब्रेण्डन मक्कमलेनले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ तथा जसपर डेभिडसनले १ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोज्यो । स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो ।
टोलीका चाल्र्स टिएरले सर्वाधिक ८० रन जोडे । उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । करणले ८० रनमा खेलिरहेका उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराए ।
फेन्ली म्याक्रिथले ६७ बलमा ३ चौका र १ छक्कासहित ५५ रन बनाए । उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा आउट भए । कप्तान रिची बेरिङ्टन ४६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४० रनमा आउट भए । बेरिङ्टन करणकै बलमा विकेट किपर आसिफबाट समातिए ।
म्याथ्यु क्रस ५६ बलमा ३ चौकाको सहयोगमा ३९ रन बनाए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । माइकल लिस्क १५ बलमा १८ रन जोडे । लिस्क रिजनको बलमा भीमबाट क्याच भए । ब्रेण्डन मक्कमुलनले ३१ बलमा २ चौकाको सहयोगमा १९ रन जोडे । सोमपालले उनलाई बासिर अहमदबाट क्याच गराए ।
रिजनले १२ रन बनाएका ओपनर जर्ज मुन्सीको विकेट लिए। मुन्सी लामो सटको प्रयासमा सोमपालबाट समातिए । नेपाली टोलीका सोमपाल, करण र रिजनले समान २ तथा सन्दीपले १ विकेट लिए ।
जितपछि लिग टुको अंक तालिकामा नेपाल पुछारबाट सातौं स्थानमा उक्लिएको छ । नेपालको १३ खेलमा ८ अंक छ । ८ टोली रहेको लिग टु मा १७ खेलमा २० अंकका साथ स्कटल्याणड चौथो स्थानमा छ ।
विश्वकप लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको समाप्तिमा शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । पुछारमा रहने ४ टोलीले विश्वकप छनोट प्लेअफ खेल्नु पर्नेछ । त्रिकोणात्मक सिरिजमा अर्को टोली नेदरल्याण्ड्स छ ।