भक्तपुर, जेठ १६
काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गरेको १२ औं निबन्ध लेखन प्रतियोगिता तथा ८औँ वार्षिक वक्तृत्वकला प्रतियोगितामा बिजेताहरुलाई बिहीबार पुरस्कार वितरण गरिएको छ ।
‘कृत्रिम बुद्धिमत्ता र मानवताको भविष्य’ विषयको निबन्ध प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, आयुष शाह द्वितीय र सेंट जोसेफ इङ्लिस एकेडेमीका सञ्जोक मगर तृतीय भएका थिए ।
यसैगरी ‘किताब वा प्रविधिः सिकाइको भविष्य’ विषयको वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान संस्थानकी प्रप्ता लम्साल प्रथम, काठमाण्डौंको शिवपुरी कलेजकी रित काफ्ले द्वितीय, र जावलाखेलस्थित सेंट जेभियर्स स्कुलका ऋतेश देव तृतीय भएका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई मधेसी आयोगका संस्थापक प्रमुख आयुक्त डा. विजयकुमार दत्तले स्वर्ण, रजत र कांस्य पदकका साथै सम्मानपत्र र नगद पुरस्कारले पुरस्कृत गर्नुभयो । साथै निबन्ध प्रतियोगिताका थप १० जना र वक्तृत्वकलाका १२ प्रतिस्पर्धीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिएको थियो ।
दुवै प्रतियोगितामा नेपालभरका करिब ४० वटा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूबाट उल्लेखनीय संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको पाकिस्तानी दुतावासले जनाएको छ । प्रतियोगिता दुई साता लामो चरणबद्ध प्रकृयामा सम्पन्न भएका थिए ।
पुरस्कार वितरण कार्यक्रममा डा. दत्तले पाकिस्तानले शिक्षा, स्वास्थ्य र सामुदायिक विकासमा पु¥याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै त्यसले दुई देशका युवाहरूलाई साझा मूल्य र जिम्मेवार विश्वनागरिकका रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयो ।
पाकिस्तानका नेपालस्थित राजदूत अबरार एच. हाश्मीले विद्यार्थीहरूले जटिल विषयमा देखाएको आलोचनात्मक सोचप्रति प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रतियोगिताहरूले युवालाई बदलिँदो विश्वका अवसर र चुनौतीहरूमा सजग बनाउने विश्वास व्यक्त गर्नुभयो ।
पाकिस्तानी दुतावासले पछिल्ला १२ वर्षदेखि निबन्ध तथा ८ वर्षदेखि भाषण प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्दै आइरहेको छ ।