भक्तपुर, जेठ ७
प्रहरी निरीक्षक हुँ भन्दै सर्वसाधारणलाई धाकधम्की दिने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिछो गाउँपालिका–३ वतन भएका २३ वर्षिय सुजन गिरी हुन ।
उनलाई प्रहरी वृत्त थिमिको टोलीले मध्यपुर थिमि–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा रहेको नेवाः भुटु रेष्टुरेन्ट अगाडिबाट मंगलवार साँझ पक्राउ गरेको हो । गिरीले आफ्नो मोवाइलको वाल पेपरमा प्रहरी निरीक्षकको बर्दी लगाएको तस्विर राखी सर्वसाधारणलाई धाकधम्की दिनुका साथै अशान्ति फैलाएको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज नेउपानेले बताउनुभयो ।
गिरीलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखी थप कारवाही भइरहेको डिएसपी नेउपानले जानकारी दिनुभयो ।