नेपाल आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल

भक्तपुर, जेठ ५
नेपाल पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको छ । विश्वकप एसिया क्वालिफायर अन्तर्गत सुपर थ्रीको सोमवार सम्पन्न खेलमा चिरपरिचित प्रतिद्धन्द्धी संयुक्त अरव इमिरेट्स (युएई)लाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको हो ।
जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौति पछाएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर राजमति ऐरी ८ रनमा र सम्झना खड्का २१ रनना आउट भए । आश गरिएकी कविता कुँवर यो खेलमा पनि क्रिजमा टिक्न सकिनन् । उनी मात्र ५ रनना आउट हुन पुगिन् । ३८ रन जोड्दा नेपालले पहिलो क्रमका तीन खेलाडी गुमाएको थियो ।


यसपछि कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतो क्रिजमा थिए । तर यी दुईले पनि ठुलो साझेदारी गर्न सकेनन् । चौथो विकेटको लागि २४ रनको साझेदारी गर्दै पुजा १३ रनना पेभेलियन फर्किन् ।
पुजा आउट भएपछि पुर्व कप्तान रूबिना क्षेत्रीले इन्दुलाई साथ दिइन् । यी दुईले पाँचौं विकेटको लागि ३७ रनको साझेदारी गरेर नेपालको जितको आधार खडा गरे । रुबिना १८ बलमा ३ चौका सहित २३ रन जोडेर आउट भईन् ।
कप्तान इन्दुले यो खेलमा पनि सुझबुझपुर्ण प्रदर्शन गरिन् । उनी अविजित ३० रनमा रहँदै नेपाललाई जित दिलाउन सफल भईन् ।
बलिङ्मा युएईका लागि मिसेल बोथा, सुरक्षा कोथे, वैश्नवी महेश र इशा ओजाले १÷१ विकेट लिए ।


यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो ।
ओपनरद्वय इशा ओजा र थ्रीता सतिशले पहिलो विकेटको लागि ४५ रनको साझेदारी गरे । थ्रीता २१ रनमा राजमति ऐरीको बलमा आउट भइन् । पहिलो विकेट झार्न नेपालले १० औं ओभर कुर्नुपर्यो ।
इशाले २ चौका र १ छक्का सहित ३९ रन बनाइन् । यस्तै हिना होटचान्डीले २० र लाभान्या केनीले १२ रन बनाए ।
बलिङमा मनिषा उपाध्यायले ४ ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट झारिन् । कविता कुँवरले २ र राजमतिले १ विकेट लिइन् ।
नेपाली महिला टिमको यो ऐतिहासिक सफलता हो । नेपाल ग्लोबल क्वालिफायरमा पुगेको यो पहिलो पटक हो । एसिया छनोटको सुपर थ्रीमा आज नेपालले युएईलाई ५ विकेटले हरायो ।