भक्तपुर, बैशाख २७
प्रहरी जुवातास खेलिरहेको अवस्थामा भक्तपुरका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार मध्यपुर थिमि–३, गठ्ठाघरबाट ४ जना, मध्यपुर थिमि–१, लोहकिल्थलीबाट ७ जना र चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशीबाट ५ जनालाई शनिवार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका–८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ घर भएका ४१ वर्षीय भिम प्रधान समेत ४ जनालाई पक्राउ गरेको हो । प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार ७ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी मध्यपुर थिमि नगरपालिका–१ लोहकिल्थली मनहरास्थित आँखा अस्पताल नजिकै चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धन बहादुर फुयालको मुस्ताङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट वेशी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तुलसी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही गरिरहेको जनाएको छ ।