भक्तपुर, बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले सोमवार १७ औं स्थापना दिवस मनाएको छ । अस्पताल हातामा आयोजित कार्यक्रममा अस्पतालमा मध्यपुर रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएको छ भने अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै खुल्ला रक्तदान आयोजना गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कोषको आम्दानीको दाँजोमा बिमा दावी अत्याधिक बढी भएका कारण हाल भुक्तानीमा समस्या आएको बताउनुभयो । उहाँले स्वास्थ्य बिमाको मोडल परिमार्जन गरी योगदानमा आधारित बिमा नीति ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यसो गर्दा बिमा कोषमा वार्षिक एक खर्ब रुपैंया आम्दानी हुने र बिमाको दावी भुक्तानीमा समस्या नआउने उहाँले जिकिर गर्नुभयो । “सक्नेले योगदानको आधारमा बिमाको प्रिमियम तिर्नुपर्ने र नसक्नेको सरकारले स्वास्थ्य बिमा गरिदिने व्यवस्थाले मात्र स्वास्थ्य बिमा दिगो हुन्छ र निःशुल्क आधारभुत स्वास्थ्य सेवा दिने राज्यको उद्देश्य पुरा हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले स्वास्थ्य करमा बृद्धि गरी उक्त करको रकम, कर्मचारीको तलब, राज्यले लिने विभिन्न करको निश्चित प्रतिशत बिमा कोषमा जाने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रोगको प्रकृति अनुसार ५ लाख सम्म स्वास्थ्य बिमाको लाभ लिन सकिने व्यवस्था गरिने बताउनुभयो ।
उहाँले शहरी क्षेत्रमा नयाँ अस्पताल बनाउनु भन्दा पनि विशेषज्ञ अस्पतालको खाँचो रहेको बताउनुभयो । देशभरका पालिकाका वडाहरुमा आधारभुत स्वास्थ्य केन्द्रको बिस्तार गर्नुपर्नेमा जोड दिँदैं तिनलाई रिफरल सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा दैनिक एक हजार भन्दा बढी सेवाग्राही आउनु अस्पतालको विश्वसनीयताको आधार भएको उहाँको भनाई थियो । उहाँले अस्पतालको प्रगतिको प्रशंसा गर्दै देशभरका विशिष्ट अस्पतालहरूमा समेत उपलब्ध नभएका सिटिस्क्यान र डायलाइसिस सेवाजस्ता उच्चस्तरीय सेवा विस्तार गर्नु व्यवस्थापनको सफलता भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिट्व्युरो सदस्य दिलीप कुमार प्रजापतिले अस्पतालको सेवा उच्च गुणस्तरको रहेको चर्चा गर्दै अस्पतालले आसपासका जिल्लाका बिरामीलाई समेत सेवा प्रवाह गर्नुले यसको महत्व अझ बढेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनकृष्ण श्रेष्ठले अस्पतालले सरकारी स्तरमा भन्दा पहिले नै समूदायमा आधारित स्वास्थ्य बिमा कार्यक्रम लागु गरी नेपालमा स्वास्थ्य बिमाको अवधारणा ल्याएको चर्चा गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. डि के रौशनले अस्पतालले चालु आर्थिक वर्षको ९ महिनामा एक लाख ५० हजारलाई ओपिडि, ३ हजार ११८ जनालाई अन्तरंग सेवा, ७० हजार भन्दा बढीको प्रयोगशाला परीक्षण, ५७ हजार ४१३ जनालाई एक्सरे, १ हजार ५५१ जनालाई सिटीस्क्यान, १७ हजार ८८० जनाको युएसजी परीक्षण, १ हजार ६३१ वटा शल्यक्रिया, ७४४ हेमोडायलाइसिस सेवा, ९९० कोलोनोस्कोपी र एन्डोस्कोपी परीक्षण गरिएको जानकारी दिनुभयो ।
उहाँले चालु आ.व.को ९ महिनामा अस्पतालले अस्पतालले ३९ करोड २९ लाख ३४ हजार रुपैयाँ आम्दानी र ३३ करोड ७७ लाख ८१ हजार रुपैयाँ खर्च गरेको बताउँदैं अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग २६ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जानकारी दिनुभयो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवम् नेपाली कांग्रेस मध्यपुर थिमिका सभापति हरीदास प्रजापतिले अस्पतालले अस्पतालको सेवा प्रवाह, आर्थिक अनुशासन र पूर्वाधार विकासमा अस्पतालले जोड दिइरहेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले अस्पतालको निर्माणाधिन भवनको तयारी पछि अस्पताल ३ सय शैयामा बिस्तार हुने र त्यसपछि नर्सिङ कलेज सञ्चालन गर्ने गरी तयारी थालिएको जानकारी दिनुभयो । उहाँले अस्पतालको सेवा बिस्तारका क्रममा ब्लड बैंक सञ्चालनमा ल्याएको जानकारी दिँदैं अब मध्यपुर थिमिका जनता मात्र नभइ आसपासका नागरिकहरुले समेत सहजरुपमा रगत पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अस्पतालमा अत्याधुनिक एचडियु सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको, एमरजेन्सी र शल्यक्रिया सेवालाई अध्याधुनिक बनाएको, स्वास्थ्य बिमा मार्फत जनताको घरदैलोमा स्वास्थ्य सेवा बिस्तार गरिएको जानकारी दिँदैं अस्पतालमा एमआरआई सेवा बिस्तारको लागि आवश्यक पहल भइरहेको बताउनुभयो ।
सो अवसरमा खुल्ला रक्तदान आयोजना गर्नुका साथै अस्पतालका बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरी फलफुल वितरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनकेशरी श्रेष्ठ, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दा, नगरपालिकाका जनप्रतिनिधिहरुलगायतको उपस्थिती थियो ।