भक्तपुर, बैशाख १३
साविक विजेता ललितपुर सिटी एफसीले अपराजित रहँदैं नेपाल सुपर लिग (एनएसएल)को उपाधि रक्षा गरेको छ । दशरथ रंगशालमा भएको शनिवार सम्पन्न फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए ।
उपाधिसँगै ललितपुरले एनएसएलमा दुई किर्तिमान बनाएको छ । ललितपुर अपराजित रहँदै उपाधि जित्ने पहिलो टोली बनेको छ भने एनएसएलको उपाधि रक्षा गर्ने पनि ललितपुर पहिलो टिम बनेको छ ।
ललितपुरले एनएसएलमा अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पु¥याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो ।
च्याम्पियन ललितपुरले नगद ८० लाख रुपैया पुरस्कार प्राप्त गरेका छन भने उपविजेता पोखराले ३० लाख हात पारे ।
दुई उत्कृष्ट टिमबीचको फाइनल अनुमान गरे जस्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो । खेलको सुरुवात केही सुस्त रहेपनि इमोह इजेकेलले पहिलो हाफको अन्त्यतिर गोल गर्दै साविक विजेता ललितपुरलाई अग्रता दिलाए ।
इमोह इजेकेलले खेलको ४२औं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई अग्रता दिलाएका थिए । इमोह इजेकेलले मनोज राईको क्रसमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाए । मनोज राईको क्रसलाई गोलकिपर प्रिसोले जम्प गरेर पन्च गर्न खोजे । तर उनी सफल नहुँदा इमोह इजाकियलको गोल गरे ।
यसअघि खेलको १४ औं मिनेटमा पापा इबाउ केबेको प्रहार क्रसबार माथिबाट बाहिरियो । खेलको २३ औं मिनेटमा पोखराका सुदिल राईको क्रस ललितपुरका डिफेन्डरलाई लागेर रिबाउन्डमा आएको बललाई कप्तान आयुष घलानले बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लिन सकेन् ।
२७ औं मिनेटमा पोखरा फेरि चुक्यो । जो आइडोको फ्रि–किकमा स्टेफन समिर बिनोङको पावरफुल सट पोष्ट नजिकैबाट बाहिरियो । ३४ औं मिनेटमा आयुषले दिएको थ्रु–पासमा स्ट्राइकर बिनोङले प्रहार गर्नपर्ने बललाई कन्ट्रोल गर्न खोजे । ललितपुरका कप्तान तथा डिफेन्डर अनन्त तामाङले सो बललाई क्लियर गरिदिए ।
खेलको ४८ औं मिनेटमा ललितपुरले अग्रता दुगुना गर्ने अवसर गुमायो । इमोह इजिकियलल राईट फ्लयांकबाट दिएको उत्कृष्ट पासमा केरभेनमस बेलफोर्टले छ यार्ड बक्सबाट बललाई राम्ररी कनेक्ट गर्न सकेनन् ।
खेलको ६१ औं मिनेटमा इमोहले तीन डिफेन्डरलाई छल्लाउँदै हानेको पावरफुल सट पोष्टमा लागेर फर्कियो ।
खेलको ६३ औं मिनेटमा पोखराले खेललाई १–१ को बराबरीमा पुर्यायो पदम भट्टराईको क्रसमा स्टेफन समिरको हेडरलाई ललितपुरका गोल किपर जेफ्री बाल्टसले ब्लक गरे । तर रिबाउन्डमा क्लोज रेन्जबाट गोल गर्न सफल रहे । खेल १–१ को रोमाञ्चक मोडमा पुग्यो ।
तर फेरि ललितपुरले अग्रता बनायो । खेलको ७४ औं मिनेटमा पोखराका डिफेन्डरहरूले क्लियर गर्ने नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट सहज गोल गरे । यही गोल निर्णायक बन्दा ललितपुरले लगातार एनएसएल उपाधि जिते ।
ललितपुरका कप्तान अनन्त तामाङसहित सनिश श्रेष्ठ, आदित्य शाक्यसँगै विदेशी खेलाडीहरु जेफ्री बाल्टुस, इमोह इजेकेल र पापा इबोउ केबेले लगातार दोस्रो पटक एनएसएल उपाधि जिते ।
यसैबीच पोखरा थन्डर्सका आयुष घलान नेपाल सुपर लिग (एनएसएल)को सर्वोत्कृष्ट घोषित भएका छन् । उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन् । ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।
पोखराका गिलामो प्रिसो एनएसएलको उत्कृष्ट गोल किपर बने । उनले ५ खेलमा क्लि सिट राखेका थिए । उनले पनि १ लाख रुपैयाँ प्राप्त गरे । धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता रहे । उनले यो सिजन कुल ५ गोल गरेका थिए । ३ सिजनमा उनले कुल ९ गोल गरेका छन् । झापा एफसी फेयर प्ले टिम बनेको छ ।
यसैगरी नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी प्रिती राईलाई स्कुटर प्रदान गरिएको छ । उनी एनएसएलकी गुडविल एम्बेसडर हुन् ।