पुलिसले जित्यो केएनपी राष्ट्रिय महिला भलिबल उपाधि

भक्तपुर, बैशाख १३
नेपाल पुलिस क्लबले पहिलो पटक केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार सम्पन्न प्रतियोगिताको आठौं संस्करणको फाइनलमा पुलिसले ६ पटकको विजेता एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।
एपिएफ विरुद्ध पुलिसले सुरुवात बाटै रवाफिलो प्रदर्शन गर्दै सहज जितका साथ उपाधि जित्न सफल भएको हो । एकपक्षीय शैलीको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्दै १–० को अग्रता बनायो । दोस्रो सेटमा एपिएफले केहि चुनौती दिने प्रयास गर्यो । तर यो सेट पनि २५–२३ ले गुमायो ।
उपाधि रक्षाको लागि एपिएफलाई तेस्रो सेट जित्नै पर्ने दवाब थियो । तर खेल पुलिसले २५–१६ ले सहजै आफ्नो पक्षमा पा¥यो र जितसँगै पहिलो पटक उपाधि पनि जित्न सफल भयो । उपाधिसँगै पुलिसले ४ लाख ९९ हजार र एपिएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा पुलिस उपाधि जित्ने तेस्रो टोली हो । यसअघि छ पटक एपिएफ र एक पटक टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले जितेको थियो ।
प्रतियोगितामा पूर्व विजेता टिप टप न्यु डायमण्ड तेस्रो हुन सफल भयो । शनिवार नै सम्पन्न तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा टिपटप न्यु डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–१९, २५–१२ र २५–१८ को सेटमा हराउँदैं तेस्रो स्थानमा चित्त बुझाएको हो । तेस्रो भएको न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा विजेता पुलिसकी कामना बिष्ट सर्वोत्कृष्ट खेलाडी बनिन् । उनलाई नगद ५० हजार प्रदान गरियो । पुलिसकी कमला पुन उत्कृष्ट सेटर, शान्ति कला उत्कृष्ट लिबरो र रूपेश कुमार बिष्ट उत्कृष्ट प्रशिक्षक बन्न सफल रहे ।
व्यक्तिगत एपिएफकी निरूता ठगुन्ना बेस्ट स्पाइकर र पुजा चौधरी उत्कृष्ट सर्भर बने । व्यक्तिगत पुरस्कार विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । शेर बाहादुर खड्का मेमोरियल ट्रष्टको आयोजनामा बैशाख १० गते सुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता थियो ।