एपिएफले जित्यो लुम्बिनी कप

भक्तपुर, बैशाख १३
सशस्त्र प्रहरी बलको नेपाल एपिएफ एफसीले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालगञ्ज रंगशालामा शुक्रवार सम्पन्न फाइनलमा एपिएफले अर्को विभागिय क्लव नेपाल पुलिस क्लवलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।
एपिएफलाई उपाधि दिलाउन खेलको अन्तिम समयमा गिता रानामगरले निर्णायक गोल गरे । उनले इन्ज्युरी समयमा गरेको हेड गोलमा परिणत भएपछि एपिएफलाई विजयी बनाएको हो ।
निर्धारित समयमा गोलरहित बराबरी भई खेल टाइब्रेकरतर्फ धकेलिएको बेला एपिएफले लगातार तीन कर्नरको मौका पायो । उक्त सेटपिसको अन्तिम कर्नरमा प्राप्त बललाई गिताले हेड मार्फत गोल गर्दै टोलीलाई च्याम्पियन बनाएका हुन । गीता प्लेयर अफ द फाइनल घोषित भइन् ।
विजेता एपिएफले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । यो एपिएफको महिला फुटबलमा वर्षको पहिलो उपाधि हो । गत वर्ष लिगसहित ३ वटा उपाधि जितेको थियो ।
एपिएफकी प्रशिक्षक भगवती थापाले फाइनलमा टोलीले सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको र पुलिसले कडा चुनौती दिएको बताइन् ।


एपिएफकी कप्तान अनिता बस्नेत प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषानाथ उत्कृष्ट गोलकिपर, एपिएफकी गिता राना उत्कृष्ट डिफेन्डर, सुरु लिम्बु उत्कृष्ट मिडफिल्डर, अनिता केसी उत्कृष्ट फरवार्ड र भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् । उत्कृष्टले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।
यस्तै फाइनल अघि बाँके जिल्लाकै खेलाडी नेपाल पुलिसकी कप्तान निरु थापालाई सम्मान गरिएको थियो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले नगद २५ हजार र प्रमाणपत्रले सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना,बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र अन्तरालका कार्यकारी जयनारायण शाह लगायतले सम्मान गरेका थिए ।