एपिएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन

भक्तपुर, चैत्र ९
सशस्त्र प्रहरी बलको एपिएफ एससी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरको मैदानमा शनिवार भएको फाइनलमा एपिएफ नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै च्याम्पियन बनेको हो ।
निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकालेको हो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा विमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अग्रता जोगाउन नसकेको आर्मीले उपाधि गुमायो ।
अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७४ औं मिनेटमा रश्मीकुमारी घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काइन् । प्रिति राईको उत्कृष्ट भली पासमा रश्मीकुमारीले उत्कृष्ट हेडर गोल गरेकी हुन । एपिएफकी प्रीति राई प्लेयर दि फाइनल घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
एपिएफले ट्रफीसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । एपिएफले यो वर्ष लिग सहित ३ वटा उपाधि जितेको छ ।
एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएको एपिएफले दुई वटा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्यो । फागुन २४ गते इलाम गोल्डकपको फाइनलमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो ।
चितवनमा आर्मीकी चन्द्रा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ४० हजार प्राप्त गरिन् । एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, एपिएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगितामा ८ गोलसहित एपिएफकी रश्मि कुमारी घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा भएको प्रतियोगितामा ८ टोली सहभागी थिए ।