भक्तपुर, चैत्र ६
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका दौरान फोहोर भएको भक्तपुर बहुमुखी क्याम्पस हाता र दुधपाटी क्षेत्र निर्वाचन सकिएको आधा घण्टामा चिरीच्याट्ट सफा भएको छ ।
निर्वाचनको दौरान विद्यार्थी संगठनहरुले छरेका प्रचार सामग्रीले फोहोर भएको क्याम्पस हाता र दुधपाटी क्षेत्र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरसफाई गरेका कारण चिरीच्याट्ट सफा भएको हो ।
सरसफाईका क्रममा विद्यार्थीहरुले यत्रतत्र छरिएका प्रचार सामग्रीहरु पर्चा, पम्पलेट, कार्डलगायतका वस्तु टिपेर संकलन गरी निश्चित स्थानमा विसर्जन गरेका थिए ।
सरसफाईमा बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठ, चाँगुनारायाण् नगरपालिकाका प्रमुख जीवन खत्री, नेविसंघ भक्तपुरका नेताहरु, नेविसंघ भक्तपुर बहुमुखी क्याम्पस इकाईका नेता एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेविसंघका पूर्व नेता समेत रहनुभएका सांसद श्रेष्ठले फोहोर गरेपछि सफा गर्ने दायित्व पनि रहेकाले सरसफाई गरिएको बताउनुभयो । उहाँले निर्वाचनका दौरान ऐतिहासिक शहर भक्तपुर प्रवेश गर्ने प्रमुख नाका दुधपाटी क्षेत्र फोहोर भएपछि सरसफाई गरिएको बताउनुभयो ।