भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिकामा महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाले भक्तपुर क्यान्सर अस्प्तालको समन्वयमा मध्यपुर थिमिमा आज (सोमवार)बाट महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ शुरु गरिएको हो ।
नगरको विभिन्न टोलमा शिविर सञ्चालन गरी सो स्क्रिनिङ शुरु गरिएको मध्यपुर थिमि नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ३० वर्षदेखी ५९ वर्षसम्मका महिलाहरु सहभागी भई स्वास्थ्य परीक्षण गरी लाभ लिन सकिने छ ।
स्क्रिनिङको पहिलो शिविर मध्यपुर थिमि नगरपालिका वडा नं. ९ भुलाँखेलमा आयोजना गरिएको प्रजापतिले बताउनुभयो । भुलाँखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा पहिलो शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो शिविर चैत्र २ गते शनिवार वडा नंं ७ को नगदेश स्वास्थ्य चौकी, चैत्र ६ गते बुधवार वडा नं. ८ को बोदे स्वास्थ्य चौकी र चैत्र ९ गते शनिवार वडा नं. ३ कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुलमा सञ्चालन हुनेछ ।