भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिका–७, नगदेशस्थित ऐतिहासिक लायकू (दरवार) पुनःनिर्माण शुरु भएको छ । मल्लकालमा तत्कालिन राजदरवारको रुपमा रहेको नगदेश लायकूको सोमवार शिलान्यास भएसँगैं पुनःनिर्माण शुरु भएको हो ।
मध्यपुर थिमि नगरपालिकाको नगरस्तरीय योजना अन्तर्गत लायकूको पुनःनिर्माण शुरु भएको हो । लायकू तीन तल्ले र परम्परागत शैलीमा पुनःनिर्माण हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नगरको क्रमागत योजना अन्तर्गत लायकू पुनःनिर्माण हुन लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
लायकू पुनःनिर्माणका लागि यसवर्ष मध्यपुर थिमि नगरपालिकाले लागत साझेदारी अन्तर्गत ६९ लाख ९७ हजार ४१७ रुपैंया सहयोग गर्ने छ भने स्थानीय जनसहभागिताबाट ५७ हजार ८३९ रुपैंया व्यहोर्ने छ ।
लायकूको शिलान्यास गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्ने र पुनःनिर्माण गर्ने मात्र नभई अबदेखी यहाँका सम्पदाहरुलाई स्थानीयको आयस्रोतको केन्द्रको रुपमा विकास गर्ने नीति लिएको बताउनुभयो ।
उहाँले ऐतिहासिक एवमु पुरातात्विक महत्वका सम्पदाहरुको प्रचार प्रसार गरी पर्यटन उद्योगको विकाससँगै स्थानीयको आय आर्जन बृद्धि गर्ने लक्ष्य नगरपालिकाको रहेको बताउनुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्तित्वको संकटमा रहेको नगदेश स्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको लायकूको पुनःनिर्माणले नगदेश क्षेत्रकै महत्व बढ्ने बताउनुभयो । उहाँले नगरभित्रका अमुल्य सम्पदाहरुको निर्माण एवम् पुनःस्थापनको कार्य निरन्तर जारी रहने स्पष्ट पार्नुभयो ।
लायकू पुनःनिर्माणका लागि स्थानीय बासिन्दाको भेलाले भाइजन बादेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । समितिले गत फागुन २५ गते नगरपालिकासँग सम्झौता गरी कार्य शुरु गरेको र आगामी २०८२ असार १० गते सम्पन्न गर्ने लक्ष्य रहेको समितिका सचिव दिनेश बादेले बताउनुभयो ।