मध्यपुर थिमिको बोडे र आस्था माविमा जोखिम न्यूनीकरण अभिमुखीकरण

भक्तपुर, फागुन २६
मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोदेस्थित बोडे मावि र वडा नं. ३ गठ्ठाघरस्थित आस्था महिला माविका विद्यार्थीहरुलाई जोखिम न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद् व्यवस्थापन शाखाको संयुक्त आयोजनामा सो विद्यालय स्तरीय अभिमुखीकरण आयोजना गरिएको हो ।
कार्यक्रममा रेडक्रसका सहजकर्ता ऋषि खड्का र ईश्वर श्रेष्ठले सहभागी विद्यार्थी एवम् शिक्षकहरुलाई विपद्का घटनामा हुने जोखिम न्यूनीकरण र सडक सुरक्षा सम्बन्धी विभिन्न विषयमा जानकारीमूलक प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सडक दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीहरू, भूकम्प, आगलागी जस्ता प्राकृतिक विपदहरूमा सुरक्षित रहने उपायहरू, तथा विद्यालय र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने विषयमा सहभागिहरूलाई अभिमुखीकरण गरिएको थियो ।


विद्यार्थीहरूलाई सडक सुरक्षाका उपाय, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण सम्बन्धी जानकारी गराउने उद्देश्य लिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुरका मन्त्री धर्मराज कार्कीले बताउनुभयो ।
बोडे माविमा आयोजित कार्यक्रममा वडा सदस्य सुरेन्द्र था श्रेष्ठ, मध्यपुर थिमि नगरपालिका वातावरण सरसफाई तथा विपद व्यवस्थापन शाखाका प्रमुख गणेशदेवी प्रजापति तथा शाखाका कर्मचारी सुदन प्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।
यस्तै आस्थामा माविमा आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय समुदायका सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।