भक्तपुर, फागुन २६
नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ । नेपालले आइतवार युगान्डामाथि १ विकेटको जित हासिल गरेको हो ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन् । उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन् ।
नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो । नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन् । उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन् ।
पूजा महतो १६ र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन मात्र बनाउन सक्यो । युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् ।
स्टेफेनिया नाम्पिलिनाले २५ बलमा १ चौकाको सहयोगमा १४ रन जोडिन् । मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडे । नेपालका लागि पूजा महतोले ३ र कप्तान इन्दु बर्माले २ विकेट लिइन् ।
जारी वुमन्स डे कपमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ ।