क्यानको वार्षिक क्यालेण्डरमा सार्वजनिक, ५५ वटा कार्यक्रम समावेश

भक्तपुर, फागुन २५
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ सन् २०२५ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले महिला र पुरुष सिनियर टोली आइसीसी टि–२० विश्वकपमा छनोट हुने लक्ष्यका साथ सिनियर एवम् उमेर समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय लगायतका ५५ वटा कार्यक्रम समावेश गरी शनिवार वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।
जारी गरिएको क्यालेण्डरमा क्यानले आयोजना गर्ने कार्यक्रमलाई मात्र समेटिएको जानकारी क्यानका सचिव पारस खड्काले दिए । प्रदेश र क्षेत्रले गर्ने कार्यक्रमा यो क्यालेन्डरमा राखिएको छैन ।
क्यालेण्डर अनुसार नेपालको पुरूष र महिला सिनियर क्रिकेट टोलीले यसै वर्ष टी–२० विश्वकप छनोट खेल्दैछ भने पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग २ का महत्वपूर्ण शृंखला खेल्दै छ ।
तिनै प्रतियोगिताहरूलाई लक्षित गरी विभिन्न तयारी कार्यक्रम र सिरिजहरू समेटेर क्यालेण्डर तयार गरिएको छ । त्यसैगरी घरेलु प्रतियोगिताहरूसँगै उमेर समूहको टिम निर्माणका लागि पनि ग्रासरुटदेखि नै तयारी गर्ने हेतुले विद्यालयस्तरीय प्रतियोगिताहरू समावेश छ ।
खड्काले यस वर्ष पुरूष र महिला दुवै टोलीका लागि टी–२० विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य भएको उल्लेख गरेका छन् । ‘हामी अब लिग २ का शृंखलाहरूबाट अंक हासिल गर्ने र विश्वकपमा छनोट हुनु मुख्य लक्ष्य हो’ उनले भने ।
यो पटक टियु खेल मैदानमा पुनः निर्माणको कामले गर्दा सबै जसो अन्तराष्ट्रिय सिरिज अवे नै राखिएको सचिव खड्काले बताए । उनले विश्व लिग डिभिभन २ र विश्व कप छननौट नै यो पटक प्रमुख लक्ष्य रहेको कारण यसको तयारीलाई महत्व दिइएको पनि बताए । उनले वर्षाको समयमा अष्ट्रेलिया भ्रमण अनि टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँगको टुरको निर्णय अबको केहि सातामा हुने पनि बताए ।
पुरूष टोलीले आउँदो अप्रिल महिनामा हङकङ गएर चारदेशीय टी–२०आई शृंखला खेल्ने छ जहाँ हङकङ, नेपाल, कतार र नामिबिया सहभागी हुनेछन् । जुनमा स्कटल्याण्डसँग टी–२०आई शृंखला खेल्ने छ । जुलाईमा श्रीलंका गएर तयारी क्याम्पमा सहभागी हुनेछ ।
त्यस्तै अगस्टमा अस्ट्रेलियाको नर्थन टेरीटोरीमा गएर टप एन्ड टुर्नामेन्ट खेल्ने टिमहरूसँग खेल खेल्नेछ जहाँ बंगलादेश, पाकिस्तानका ए टिमसहित बिग ब्यास टिमको खेलाडीहरू पनि समावेश भएको टोलीहरू हुनेछन् ।
लगत्तै सेप्टेम्बरमा पूर्ण मान्यता प्राप्त टिमसँग यूएईमा गएर टी–२०आई शृंखला पनि नेपालले खेल्ने छ । यो सबै खेलहरू अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि फलदायी हुने क्यानको विश्वास छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर घरेलु क्रिकेटमा पनि क्यानले हरेक महिना कुनै न कुनै गतिविधि हुने गरी तालिका बनाएको छ । पुरूषतर्फ केही नयाँ प्रतियोगिता पनि थपिएको छ ।
त्यसैगरी महिला क्रिकेट टिमले पनि नजिकिँदै गरेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअघि लागि विभिन्न शृंखलाहरू खेल्ने तय छ । सन् २०२५ को सुरुवातमै घरेलु मैदानमै थाइल्याण्ड र नेदरल्याण्ड्ससँग खेलेको नेपाल अहिले युगाण्डामा चारदेशीय शृंखला खेलिरहेको छ, जहाँ युगाण्डा, नेपाल, नामिबिया र हङकङ सहभागी छन् ।
लगत्तै महिला टोलीले भुटानमा गएर पनि टी–२०आई शृंखला खेल्नेछ । त्यसका लागि भुटान क्रिकेट टिमसँग समन्वय भइसकेको छ । त्यसपछि मे महिनामा टी–२० विश्वकप एसिया छनोट हुनेछ ।
जुनमा फेरि नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्नेछ भने सेप्टेम्बरमा मलेसियाको आयोजनामा यूएई र मलेसियासँग टी–२० शृंखला खेल्नेछ । त्यसपछि पनि लामो समय ग्याप नरहने हिसाबले अक्टोबरमा श्रीलंका भ्रमणका लागि प्रस्ताव गरिएको छ । श्रीलंकाबाट ग्रीन सिग्नल आउनेबित्तिकै नेपाली टोलीले गएर खेल्नेछ ।
डिसेम्बरमा फेरि नेपालको आयोजनामा पाँच देशीय क्रिकेट शृंखला हुनेछ जहाँ युगाण्डा, नामिबिया, यूएई र नेदरल्याण्ड्स नेपालमा आएर खेल्ने छन् ।
नेपालले सन् २०२५ को आफ्नो पहिलो एकदिवसीय शृंखला आउँदो जुनमा स्कटल्याण्ड गएर खेल्दै छ । आईसीसी विश्वकप लिग टु को उक्त शृंखलामा स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्स खेल्ने छन् ।
त्यसअघि नेपाली टोलीले बेलायतमा गएर अभ्यास खेल खेल्ने तय छ । मे महिनाको १५ देखि ३० सम्म बेलायत गएर विभिन्न काउन्टी टिमहरूसँग खेल्नेछ । त्यसपछि जुनमा लिग २ को शृंखला छ ।
अक्टोबरमा टी–२० विश्वकप छनोटमा सहभागी भएपछि यूएईमा गएर अमेरिका र यूएईसँग लिग २ को अर्को शृंखला नेपालले खेल्नेछ । त्यस्तै डिसेम्बरमा ओमानसँग नेपालमै २ ओडिआई खेल्नेछ भने सोही बेला लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीचको लिग २ शृंखला हुनेछ ।
यसरी हेर्दा नेपालको पुरूष र महिला दुवै सिनियर क्रिकेट टिमका लागि वर्ष २०२५ व्यस्त देखिन्छ । पुरूष क्रिकेट टिमको खेलहरू नियमित अन्तरालमा भइरहने भएपनि महिला क्रिकेटमा यसप्रकारको तालिका पहिलोपटक देखिएको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र नभएर घरेलु क्रिकेटमा पनि क्यानले हरेक महिना कुनै न कुनै गतिविधि हुने गरी तालिका बनाएको छ । पुरूषतर्फ केही नयाँ प्रतियोगिता पनि थपिएको छ ।
गत जनवरीमा जय ट्रफी र फेब्रुअरीमा पीएम कप जिल्ला छनोट प्रतियोगिता भइसकेको अवस्थामा पीएम कप राष्ट्रिय क्रिकेट सुरु भएको छ । यसपटक लुम्बिनी प्रदेशका ३ मैदानमा पीएम कप आयोजना हुँदैछ ।

अप्रिलमा नेशनल टी–२० च्याम्पियनसिप गर्ने तय छ । उक्त प्रतियोगिताले टी–२० का विभिन्न प्रतियोगिता खेल्नका लागि खेलाडी तयार गर्न मद्दत पुग्ने विश्वास क्यानको छ । त्यसबेला राष्ट्रिय टिमका खेलाडी देशबाहिर व्यस्त भएपनि अन्य राष्ट्रियस्तरका खेलाडीहरूलाई यो प्रतियोगिता फलदायी रहनेछ ।
मे महिनामा राष्ट्रिय खेलकुद हुने तय छ । त्यसको आधिकारिक मिति आएपछि राष्ट्रिय टोलीको खेलसँग जुधेमा दोस्रो रोजाइको टोली खेल्न मिल्नेबारे थाहा हुनेछ ।
मे र जुन महिनामा नेपाल ए को टोलीले पनि शृंखला खेल्नेछ । सेप्टेम्बरमा नेपाल ए को टोलीले भारत वा बंगलादेश गएर शृंखला खेल्नेछ । अक्टोबरमा विभिन्न प्रादेशिक प्रतियोगिताहरू हुने तय छ ।
नोभेम्बरमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हुने तय छ भने यसअघि अगस्टमा मिनी अक्सन पनि हुनेछ । डिसेम्बरमा महानगरपालिका कप आयोजना गर्ने क्यानको योजना छ ।
महानगरपालिका कपमा ६ वटै महानगरको टिम बनाएर राष्ट्रिय खेलाडी नै समावेश हुने गरी प्रतियोगिता खेलाइनेछ । नेशनल टी–२० च्याम्पियनसिप र महानगरपालिका कप नयाँ प्रतियोगिता हुन् । यी प्रतियोगिताहरूबाट टी–२० मा खेलाडीहरूलाई अभ्यस्त बनाइराख्न मद्दत पुग्नेछ ।
महिलातर्फ पीएम कप भइसकेको छ भने मे महिनामा राष्ट्रिय खेल तथा अक्टोबरमा ५० ओभरको वुमन्स इलाइट कप हुनेछ । डिसेम्बरमा पोखरा वा भैरहवामा क्याम्प गरिनेछ ।
जिल्ला र प्रदेशस्तरबाट क्यालेन्डरमा उल्लेखितबाहेक अन्य प्रतियोगिताहरू आयोजना गर्ने भएमा क्यानसँगको समन्वयमा आयोजना हुनेगरी क्यालेण्डरमा समावेश गरिनेछ ।
सन् २०२६ मा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपको एसिया छनोट आउँदो अप्रिलमा नेपालमै आयोजना हुँदैछ । त्यसका लागि तयारीस्वरूप क्यान युथ कप जनवरीमा भइसकेको छ ।
अब अप्रिलमै अफगानिस्तानको यू–१९ टोली नेपालमा आएर युथ ओडिआई शृंखला खेल्दै छ । त्यसपछि विश्वकप एसिया छनोट प्रतियोगिता हुँदैछ । त्यसपछि सेप्टेम्बरमा पुरूष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता राखिएको छ भने अक्टोबरमा यू–१९ एसीसी प्रिमियर कप हुँदैछ । त्यसपछि डिसेम्बरमा एसीसी यू–१९ एसिया कप हुँदैछ ।
महिलातर्फ जनवरीमा भएको यू–१९ विश्वकपमा नेपाल सहभागी भएर फर्किसकेको छ भने जुलाईमा यू–१९ महिला टोलीले मलेसियामा गएर खेल्ने तय छ । सेप्टेम्बरमा सातवटै प्रदेशमा विद्यालय तहको क्रिकेट प्रतियोगिता आयोजना गरी प्रतिभाहरूको खोजी गरिनेछ । डिसेम्बरमा गल्र्स यू–१९ स्कूल च्याम्पियसिप हुनेछ ।
पुरूष र महिलातर्फ उमेर समूहका विभिन्न प्रतियोगिताहरूका लागि क्यानले वार्षिक क्यालेण्डरमा विद्यालय तहदेखि नै प्रतियोगिताहरू समावेश गरेको छ । यू–१९ को टिम विकासका लागि पुरूष र महिला दुवैको यू–१६ स्कूल च्याम्पियनसिप आयोजना हुनेछ । अप्रिल र मे महिनामा जिल्ला तथा प्रदेश तहमा यू–१६ च्याम्पियनसिप हुनेछ भने सोहीबेला राष्ट्रिय च्याम्पियनसिप पनि हुनेछ । जुलाईमा एसीसी यू–१६ इस्ट जोन कप हुँदैछ जुन् प्रतियोगिता ३५ ओभरको हुनेछ । सेप्टेम्बरमा गल्र्स यू–१६ स्कूल च्याम्पियनसिप हुनेछ ।
क्यानले कोच, क्युरेटर तथा अम्पायरिङ कोर्स सम्बन्धी गतिविधि पनि क्यालेण्डरमा समावेश गरेको छ । जुनमा क्यान लेभल १ कोचिङ तथा क्युरेटर कोर्स सातवटै प्रदेशमा आयोजना हुनेछ । त्यस्तै जुलाईमा क्यान लेभल १ अम्पायरिङ कोर्स तथा लेभल २ कोचिङ कोर्सको आयोजना हुनेछ ।