भक्तपुर अद्योगिक क्षेत्रका केही उद्योगमा ताला लगाउने नगर प्रमुख प्रजापतिको चेतावनी

भक्तपुर, फागुन २४
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर आद्योगिक क्षेत्रका केही उद्योगमा ताला लगाउने चेतावनी दिनुभएको छ । नगरकोे समाज सुधार माध्यामिक विद्यालयको शुक्रवार आयोजित ५४ औं वार्षिकोत्सव समारोहमा नगर प्रमुख प्रजापतिले आद्योगिक क्षेत्रका केही उद्योगले नगरपालिकालाई तिर्नुपर्ने कर नतिरेको भन्दै ताला लगाउने चेतावनी दिनुभएको हो ।
उहाँले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरु सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरु अब उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताउनुभयो ।
“भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरुले वर्षौंदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरुमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको छ । कर पनि नतिर्ने, जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने त्यस्ता उद्योगहरु उपत्यका बाहिर स्थानान्तरणको विकल्प छैन,” उहाँले भन्नुभयो ।
स्थानीयले पनि केही उद्योग हटाउन माग गरेको उल्लेख गर्दै उहाँले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरु स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिनुभयो ।
उहाँले नेपालमा दुईथरिको शिक्षा नीतिको कारण सरकारी र निजी क्षेत्रका विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा थप बृद्धिका लागि प्रतिस्पर्धाको नीति नगरपालिकाले लिएको बताउनुभयो ।
सामूदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा उत्कृष्टता प्रदान गर्न नसकेसम्म निजी विद्यालयहरूको औचित्य कायम रहीरहने बताउँदै उहाँले प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यार्थीहरुको अस्तित्व क्रमशः लोप भएर जानेबारे विद्यार्थीहरुलाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्यार्थीहरुलाई पढाईसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरुले दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले शिक्षक सम्मान, विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक सम्मान र एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै विद्यालयले प्रकाशन गरेको स्मारिक पनि विमोचन गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्युन आय भएका अभिभावकहरुका छोराछोरी अध्ययन गरिरहेको र विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताउनुभयो ।