संगीतको धुनले गुलजार मध्यपुर थिमि

भक्तपुर, फागुन २३
मध्यपुर थिमि सुमधुर संगीतको धुनले गुलजार बनेको छ । एकोज इन द भ्यालीले आयोजना गरेको संगीत महोत्सवका कारण मध्यपुर थिमि शुक्रवार साँझ संगीतले गुलजार बनेको हो । यो क्रम शनिवार पनि चल्नेछ ।
दिउँसो साढे ३ बजे मध्यपुर थिमिको भुलाँख्य (भुलाँखेल)को डबु (डबली)मा कविन्द्रपुर एण्ड फ्रेण्ड्सको प्रस्तुतीबाट शुरु भएको एकोज इन द भ्याली संगीतको महोत्सवमा थिमि दाफा भजन खलःले दोस्रो प्रस्तुती दिएको थियो ।
त्यसपछि क्रमशः उजला सहनी एण्ड रामा शंकर रे कपिलवस्तु, श्रुती व्याण्ड, नेपाल तिवेतियन ल्हामो एशोसियसन, ओएमजी स्पार्कले प्रस्तुती दिएका थिए । साँझ ७ बजेपछि प्रसिद्ध कुटुम्ब व्याण्ड र कुटुम्बसँगैं नेपाली सुमधर संगीतका सुप्रसिद्ध गायिका ज्ञानु राणाले प्रस्तुती दिनुभएको थियो ।


कुटुम्बले ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ बोलको गितको धुनबाट आफ्नो प्रस्तुती शुरु गरेको थियो । वरिष्ठ गायिका ज्ञानु राणाले ‘सिरिमा सिरी बतास चल्यो’ बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गर्नुभएको थियो । चिसो चिसो सिरेटो चलिरहेको बेला गायिका राणाले मौसम सुहाउँदो गीत प्रस्तुत गर्दा उपस्थित सबै दर्शकले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । त्यसपछि उहाँले ‘काली पारी दाई कति राम्रो’,
उहाँले प्रस्तुती दिनुअघि गणेशको प्रार्थना गर्नुका साथै सरस्वती बन्दना, कृष्णको प्रार्थना र भगवान पशुपति नाथको साधना गर्नु भएको थियो । कार्यक्रम पछि नेवाः भोय्को आयोजना गरिएको थियो ।
मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा आयोजित एकोज इन द भ्याली संगीत महोत्सवको दोस्रो दिनको कार्यक्रम शनिवार बिहान ११ बजे शुरु हुने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


दोस्रो दिनको प्रस्तुती स्थानीय श्री राज गणेश धिमे खलःको रहने छ । त्यसपछि क्रमशः श्री सिद्धि गणेश दाफा भजन खलः शाही खड्गी समाज र श्री सिद्धि गणेश दाफा न्हुँ धिमे गुठीको प्रस्तुती हुने छ ।
यसैगरी बालकुमारी डबूमा सिवा साय्मी खलः, क्ष्नायलाक्षी फल्चामा कविन्द्रपुर एण्ड फ्रेण्ड्स, दिगु दबूमा जिजिविसा, भुलाँख्य दबूमा संगिता साह कञ्चनपुर एण्ड देउडा समूहको प्रस्तुती हुने छ ।
यस्तै दिउँसो ३ बजे दिगु दबूमा अजेन्टिनाका कलाकार लाउरा क्येटालिन पेरल्टा र ज्ञान चोइर, निगु पुखुःमा राज गणेश धिमे खलः, बालकुमारी डबूमा अम्बिका देवी भण्डारी (पोखरा), हाम्रो सपनाको नेपाल महिला नौमती बाजा समूहको प्रस्तुती रहन छ ।


साँझ ५ बजे दिगू दबूमा बाखँ (कथा), फोसी फल्चामा कविन्द्रपुर एण्ड फ्रेण्ड्स, भुलाख्य दबूमा भिन्सेन्ट मुनस् लाइभ सिनेमा (फ्रान्स), दिगू दबूमा द फ्लाइङ स्प्रिट्स र अन्त्यमा साँझ साडे ७ बजे बालकुमारी दबूमा कलेडोस्कोप–एलेना मिडलटोन (युके), क्याटलिन लियाङ म्याकइभोय्, चन्द्रेशा पान्डे र सुश्कियना गुरुङको प्रस्तुती रहने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले एकोज इन द भ्याली संगीत महोत्सवले यहाँको मौलिक कला संस्कृतिको प्रचार प्रसार हुने र यसले आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन टेवा पुग्ने विश्वासका साथ नगरपालिकाले सहकार्य गरेको बताउनुभयो ।