भक्तपुर, फागुन २०
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ । नेमकिपाको आज (मंगलवार) सम्पन्न आठौं महाधिवेशनको आज अन्तिम दिन बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौं महाधिवेशन गत फागुन १६ गते शुरु भएको हो ।
वि. सं. २०३१ साल माघ १० गते विधिवत स्थापना भएको नेमकिपाको स्थापनाकालदेखी बिजेक्छें सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ । उमेर ८५ वर्ष पुग्नुभएका बिजुक्छेंले २०७४ को आम निर्वाचनमा संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । उहाँले जित्दै आउनुभएको भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टी सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।
महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति सर्वसम्मत चयन गरेको छ । यसैगरी केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाई सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै रबिन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।
महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ ।महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरु तोकेको छ । कोशी प्रदेशमा उकेश कवां, मधेशमा सुनिल प्रजापति, बागमतिमा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, लुम्विनीमा हरिसुन्दर बासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिममा नवराज कोइराला संयोजक तोकिएका छन । महाधिवेशनमा ५० जिल्लाहरुबाट करिव तीन सय ५० प्रतिनिधि पर्यवेक्षकहरु सहभागी भएको बताईएको छ ।
नेमकिपाको पहिलो महाधिवेशन २०४७ पौष २८,२९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो । त्यसपछि दोस्रो सम्मेलन २०५१ असोज ३ र ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६, ७ र ८ काठमाण्डौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१, २२, २३ र २४ काठमाण्डौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ भक्तपुरमा भएको थियो ।