के वान युथ लिगमा एरिकालाई रजत

भक्तपुर, फागुन ९
करातेकी एरिका गुरुङले के वान युथ लिगमा रजत पदक जितेकी छिन् ।संयुक्त अरब इमिरेट्स (युएई)को दुवईमा जारी लिगमा एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले बिहिवार ६८ केजी माथिको तौल समूहमा रजत पदक जितेकी हुन ।
सेमिफाइनलमा टर्कीकी खेलाडीलाई ५–२ ले हराउँदैं फाइनल प्रवेश गरेकी एरिका इरानी खेलाडीसँग ९–१ ले पराजित भई दोस्रो भएकी हुन । यसअघि उनले पहिलो खेलमा भारतीय खेलाडीलाई ८–० ले, क्वाटरफाइनलमा काजाकास्तानको खेलाडीलाई ४–१ ले पराजित गरेको नेपाली टोलीका अफिसियल सविना श्रेष्ठले जानकारी दिए ।
एरिकाले एसियन च्याम्पियनसिपमा पनि रजत पदक जितिसकेकी छिन् । एसियाली खेलकुद र एसियन च्याम्पियनसिपमा रजत पदक जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् । एरिकाको प्रशिक्षकमा अमिर राना छन् । फागुन ११ गतेसम्म हुने प्रतियोगितामा ८७ राष्ट्रका २ हजार ३ सय ८२ खेलाडीको सहभागिता रहने बताइएको छ ।