भक्तपुर, फागुन ८
मध्यपुर थिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले बिहिवार वडा नं. ६ स्थित पाटी बिहारमा कार्यक्रम आयोजना गरी ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक र महिलाहरुको निःशुल्क स्वास्थ्य सेवा शुरु गरेको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए अनुसार वडा वडामा ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुको स्वास्थ्य जाँच शुरु गरिएको बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा हाल दैनिक एक हजारको हाराहारीमा सेवाग्राही आइरहेको अवस्थामा ज्येष्ठ नागरिक र गर्भवती महिलाहरुको सहजताको लागि अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले वडा वडामा स्वास्थ्य सेवा उपलब्ध गराएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याव रिपोर्ट लिन अब अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गरेको बताउनुभयो । उहाँका अनुसार ल्याव रिपोर्ट अब मोवाइलमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । उहाँले यसै वर्ष अस्पतालमा ब्लड बैंक सञ्चालनमा आउने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा कार्यक्रममा ल्याव सेवा, आवश्यक औषधी, भिडियो एक्सरे, विशेषज्ञ सेवाका लागि रिफरल सेवा उपलब्ध हुनेछ भने गर्भवती महिलाहरुको स्वास्थ्य जाँच गरिनेछ । सो अवसरमा स्वास्थ्य बिमा नहुने सेवाग्राहीको हकमा स्थानीय स्वास्थ्य संस्थाको पुर्जा प्रयोग गरी आवश्यक औषधी निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले सुगर, प्रेसर जस्ता दीर्घ रोगका बिरामीहरु धेरै समय खर्चेर आफ्नो उपचार गर्न पालो कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न वडा वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले यो कार्यक्रमबाट रोग लाग्नु अगावै नै रोगको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका प्रमुख डा.दिपेन्द्र कुमार रौशनले स्वास्थ्य सबैको अधिकार हो र यो अधिकारलाई घरघरमा किन नपु¥याउने त भन्ने हेतुले ज्येष्ठ नागरिक तथा महिला स्वास्थ र गर्भवती महिलाहरुको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा ल्याइएको तर्क राख्नुभयो । उहाँले निजी अस्पतालको तुलनामा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले प्रदान गर्दै आइरहेको प्रगतीको प्रचार प्रसार हुन नसकेको बताउनुभयो ।
वडा नं. २ का वडाअध्यक्ष एवम् नगरपालिकाको सामाजिक विकास शाखा संयोजक श्रीकृष्ण श्रेष्ठले कार्यक्रमले ज्येष्ठ नागरिकहरुले घरदैलोमा नै स्वास्थ्य सेवा प्राप्त गर्दा समयको वचत हुनुका साथै सेवा प्राप्तीमा पनि सहजता हुने बताउनुभयो ।
कार्यक्रम प्रत्येक महिनाको २ दिन नगरका १ देखी ९ वटै वडामा सञ्चालन हुने मध्यपुर थिमि नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले बताउनुभयो । सेवाग्राही ज्येष्ठ नागरिक क वर्गको अशक्त भएको अवस्थामा मेडिकल अफिसरसहितको टोलीको निजको निवासमा नै स्वास्थ्य जाँच गरी आवश्यक औषधोपचारको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।