भक्तपुर, माघ १९
काठमाण्डौंकी सिन्दिरा जोशी र रौतहटका रुपेश जैसवाल राष्ट्रिय बुद्धिचाल च्याम्पियन बनेका छन । सिन्दिरा महिलातर्फ र रुपेश पुरुषतर्फ राष्ट्रिय च्याम्पियन बनेका हुन । हेटौंडामा एक साता सञ्चालन भएको प्रतियोगितामा सिन्दिरा १० औं महिला र रुपेश २५ औं पुरुष राष्ट्रिय च्याम्पियन बनेका हुन ।
नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ चरणको खेल समाप्तिमा सिन्दिराले ९ अंक जोडिन । पुनम प्रसाईं ८ अंक जोडेर दोश्रो भएकी छिन् । निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोश्रो भएकी हुन ।
बाँकेका इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो भइन । उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बन्न् सफल भएकी हुन । काठमाण्डौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाईन ।
यसैगरी मोरङकी शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाण्डौंका निहाना श्रेष्ठ दशौं भए ।
यसैगरी रुपेशले पुरुषतर्फ च्याम्पियन बन्ने क्रममा सात जीत, चार बराबरी खेल्दै ९ अंक जोडे । उनले आफ्नो व्यक्तिगत रेटिङ्ग २०९३ बाट खेल शुरु गरेर ३०.२ रेटिङ्ग बढाएका छन् । समग्रमा उनको उत्कृष्ट रेटिङ्ग पर्फोमेन्स २२११ रह्यो ।
युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोश्रो बने । वतर्मान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए । झापाका राजन तेस्रो स्थानमा अडिए ।
मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन् । दोलखाका आशिष फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे । झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाण्डौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंकका साथ आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए ।
महासंघका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण समारोहका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले विजयी खेलाडीहरुलाई पुरस्कृत गरे ।
सो अवसरमा वरिष्ठ खेल पत्रकार कान्तिपुर राष्ट्रिय दैनिकका ध्रुव कुमार तुलाधर र गोरखापत्र अनलाइनका गोविन्द रेग्मीलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ, साउथ एशियन चेस फेडेरेशनका अध्यक्ष एव अल इण्डियन चेस फेडेरेशनका कोषाध्यक्ष धर्मेन्द्र कुमार, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, प्रवक्ता राजु ताम्राकार, एफए सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।