सुनीता तुलाधर,
मध्यपुर थिमि, पुष ५ गते ।
मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ यही पुष १२ गतेदेखि १४ गतेसम्म गर्न लागिएको “मध्यपुर महोत्सव – २०८१” को तयारी भईरहेको जानकारी हिजो मध्यपुर थिमिको लाय्कूमा गरिएको पत्रकार सम्मेलनमा दिइएको छ । मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको सो पत्रकार सम्मलेनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय मौलिक सँस्कृति, जीवनशैली र यससँग सम्बन्धित विभिन्न कार्यहरुको प्रदर्शनी तथा स्थानीय उत्पादनहरुको व्यापारिक प्रदर्शनी समेत गर्न लागिएको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले “न्यूजअफ” सँग कुराकानी गर्नुहुँदै महोत्सवको विशेषता भनेको नै मध्यपुरको सभ्यतालाई उजागर गराउनु रहेको र यसको इतिहास, सँस्कृतिबारे थप जानकारी दिन विज्ञहरुको समूहद्वारा छलफल कार्यक्रम पनि सञ्चालन गर्न तयारी भइरहेको जानकारी दिनुभयो ।
साथै उहाँले संयुक्त राष्ट्र संघमा नेपालको पहिचान स्थापित गर्न भूमिका खेलेको लिपि नेपालको “रञ्जना लिपि” लेखनको तालिम २ वर्षदेखि नगरपालिकाले सञ्चालन गरिरहेको र उक्त तालिममा सहभागीहरुद्वारा नै थिमि लाय्कू परिसरमा रञ्जना लिपि लेखनको प्रदर्शनी पनि गर्न लागिरहेको बताउनुभयो ।
यो महोत्सव नयाँ थिमिको शंखधरचोकबाट शुरु भई बालकुमारी, चापाचो, नगदेश, बोदे हुँदै तिगनीको निलबाराही क्षेत्रसम्म महोत्सवका विभिन्न प्रदर्शनीहरु सञ्चालन हुनेछ । स्थनीय कला सँस्कृति, पेशा, व्यवसाय, खेल तथा नेवाः भ्वय् लगायत विभिन्न नेवाः परिकारहरुको मिठो स्वाद पनि यस महोत्सवमा चाख्न सकिनेछ ।