नेपाली कांग्रेस भक्तपुरले भोली शनिवार चियापान गर्ने

भक्तपुर, कार्तिक १६
नेपाली कांग्रेस भक्तपुरले भोली शनिवार चियापान गर्ने भएको छ । कांग्रेसले तिहार, नेपाल संवत र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदानका साथै चियापान गर्न लागेको हो ।
कार्यक्रम भक्तपुर बहुमुखी क्याम्पसको प्रांगणमा बिहान ९ बजे शुरु हुने कार्यक्रम संयोजक नेपाली कांग्रेस भक्तपुरका सहसचिव यादवप्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरले प्रकाशन गरेको ‘जय नेपाल भक्तपुर’ नामको स्मारिका र नेपाली कांग्रेस भक्तपुर नगर समितिले प्रकाशन गरेको नेपाल संवतको भित्तेपात्रो समेत लोकार्पण गरिने अधिकारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पार्टी केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउनु हुने जिल्ला सभापति दुर्लभ थापाले बताउनुभयो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीका साथै देउसी भैलो कार्यक्रम पनि हुनेछ ।
चियापान कार्यक्रमको प्रत्यक्ष प्रशारण सरोकार टेलिभिजन, फेसबुक पेज मध्यपुर डायरी र शिखर एफएम हुनेछ । सोही कार्यक्रममा स्वास्थ्य परीक्षणका साथै नेपाल भुतपूर्व सैनिक संघको आयोजनामा खुल्ला रक्तदान समेत हुनेछ ।
नेपाली कांग्रेस भक्तपुरले प्रत्येक वर्ष नेपाल संवतको पहिलो दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आइरहेको छ । गतवर्ष जाजरकोट भूकम्प, त्यसको अघिल्लो वर्ष आमनिर्वाचनका कारण कांग्रेसको चियापान कार्यक्रम स्थगित भएको थियो ।