भक्तपुर महोत्सव–२०८१ मूल समारोह समितिको बैठक सम्पन्न

भक्तपुर, कार्तिक ८
भक्तपुर महोत्सव २०८१ मूल समारोह समितिको बैठक बिहिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा प्रमुख प्रजापतिले ‘भक्तपुर महोत्सव’ भक्तपुर नगरपालिकाको मात्र नभई सिंगो भक्तपुरका जनताको महोत्सव भएको बताउनुभयो । उहाँले आगामी २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने ५ दिने भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न १६१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा समिति, उपसमितिहरु गठन गरिएको जानकारी गराउनुभयो ।


भक्तपुरको मौलिक एवं ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व, जीवनशैली अन्तर्राष्ट्रिय जगतमा प्रचार गर्न भक्तपुर महोत्सवको आयोजना गरिएको जानकारी दिँदैं उहाँले महोत्सवले भक्तपुर नगरबासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेशा र व्यवसायीहरुलाई सहयोग हुने अपेक्षा गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउन आग्रह गर्दै भक्तपुरलाई महोत्सवमार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो ।


प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महोत्सव अवधिभर नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा, ट्राफिक, बजार व्यवस्थापन आदि विषयमा सम्बन्धित निकायबाट आपसी समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।


भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले महोत्सव सफल पार्न सम्पूर्णको सहयोग रहने अपेक्षा व्यक्त गर्दै पाँच दिने भक्तपुर महोत्सवलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले महोत्सवलाई २०७२ को महाभूकम्पले क्षती गरेका सम्पदा पुननिर्माण भइसकेको सन्देश विश्वव्यापी रुपमा दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले महोत्सवपछि भक्तपुरमा रात्रीकालिन साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदैं पर्यटकहरु भक्तपुरमा बास बस्ने वातावरण तयार गर्नुपर्ने, हनुमन्ते सफाईमा नगरपालिकाले ध्यान दिनुपर्ने र महोत्सव अवधीमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।


बैठकमा भक्तपुर महोत्सव मूल समितिका सचिव गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
बैठकमा उपस्थित विभिन्न समितिका सदस्यहरुले भक्तपुर महोत्सव सभ्य र भव्य रुपमा सफल पार्न आ–आप्mनो तर्पmबाट रचनात्मक सुझाव प्रस्तुत गर्नुभएको थियो ।