संगठन निर्माणका कहिले पनि सन्तुष्ट हुनुहुँदैन– नेता केसी

भक्तपुर, कार्तिक ६
नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टी संगठन निर्माण र संगठनको विकासमा कहिले पनि सन्तुष्ट हुन नहुने बताउनुभएको छ । नेपाली कांग्रेसको एक सय दिने अभियानको भक्तपुरमा सोमवार शुभारम्भ गर्दै नेता केसीले पार्टी संगठन निर्माण र संगठनको विकास निरन्तर चल्ने प्रक्रिया भएकोले यसमा सन्तुष्ट हुन नहुने बताउनुभएको हो ।
उहाँले संगठन निर्माण गर्दा जहिले पनि आमनागरिकको जीवन पद्धतीसँग नजिक भएर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “संगठनको हरेक क्रियाकलाप नागरिकको जीवन पद्धतीसँग जोडिएर गर्न सके संगठन बिस्तार सहज हुन्छ । नागरिकमा विश्वास पैदा गर्न सकिन्छ र संगठन मजबुद बन्न मद्दत पुग्छ ।”
उहाँले पार्टीका क्रियाशिल सदस्यता लिने तर पार्टीका काममा निष्कृय बन्ने सदस्यहरुलाई चलायमान बनाउन उनीहरुलाई विभिन्न भूमिका दिनुपर्ने बताउनुभयो । “कांग्रेसको जग नै क्रियाशिल सदस्य हो । यसलाई बलियो वनाएर अगाडि बढेमात्र संगठन मजवुत हुन्छ । क्रियाशिल सदस्य हुने तर सक्रिय नहुनेलाई पार्टीमा जिम्मेवारी दिएर सक्रिय बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।


कांग्रेसको सय दिने अभियान पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थकको भावना अनुसार पार्टी अगाडि बढाउने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्दै उहाँले पार्टी भित्रका समस्या पार्टी भित्र नै राखेर छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका कुरा बाहिर हल्ला गरेर संगठन बलियो नहुने बताउनुभयो ।
जिल्ला सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा पार्टीको संगठन कमजोर नभएको दावी गर्दै केन्द्रीय समितिले पठाएका हरेक निर्देशनको पालना गरी पार्टीको गतिविधि अगाडि बढिरहेको जानकारी गराउनुभयो ।
उहाँले इमान्दारीतापूवर्क काम गरे एक दिन सफलता मिल्ने र अवसर पनि प्राप्त हुने बताउँदैं सबै तहका नेता कार्यकर्ताले पार्टीको काममा इमान्दार भएर लाग्र्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीका बारेमा विभिन्न सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा टिकाटिप्पणी गर्ने कार्य बन्द हुनुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, प्रदेश क्षेत्र नं. २ क का सभापति प्रदिप कार्की, सूर्यविनायक नगरसमितिका सभापति निशान ढुंगेल, बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेल, जिल्ला, क्षेत्रीय, प्रदेश र नगरकार्यसमितिका पदाधिकारीहरु एवम् सदस्यहरुलगायतको उपस्थिती रहेको थियो ।