न्युजिल्याण्डले जित्यो महिला टि–२० विश्वकप क्रिकेटको उपाधि

भक्तपुर, कार्तिक ५
आइसीसी महिला टि–२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको हो ।
न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन । तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो ।
सन् २००९ को पहिलो संस्करणमा इंग्ल्याण्डसँग पराजित भएको न्युजिल्याण्ड २०१० को दोस्रो संस्करणमा अष्ट्रेलियासँग पराजित भएको थियो । तर यस पटक भने न्युजिल्याण्ड्ले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो ।
न्युजिल्याण्डले सेमिफाइनलमा पूर्व विजेता वेष्ट इन्डिज तथा दक्षिण अफ्रिकाले साविक विजेतासहित सर्वाधिक ६ पटकको च्याम्पियन दक्षिण अफ्रिकालाई हराएर लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थियो । तर यस पटक पनि टोली उपविजेतामै समेटियो । सन् २०२४ मा दक्षिण अफ्रिकाको पुरुष र महिला दुवै टोली टि–२० विश्वकपको फाइनल पुगेपनि उपाधि जित्न सकेन । गतवर्ष घरेलु मैदानमै भएको महिला टी–२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो ।
१ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र जोड्न सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले २७ बलमा सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १८ बलमा १७ तथा चालो ट्राइअनले १४ रन जोडिन् ।


दक्षिण अफ्रिकालाई जितबाट रोक्न न्युजिल्याण्डका लागि रोसमेरी मेइर र अमेलिया केरले ३–३ विकेट लिए । यस्तै इडेन कार्सन, फ्रान जोनास र ब्रकी हालिडेल समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले सर्वाधिक ४३ रन बनाइन् । उनले ३८ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै ब्रुकी हालिडेले २८ बलमा ३ चौका प्रहार गर्दै ३८ रन जोडिन् । ओपनर सुजी बेट्सले ३१ बलमा ३२ रन बनाइन् । म्याडी ग्रीन १२ रनमा अविजित रहिन् ।
दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको एलाबाले २ तथा आयोबोङ्गा खाका, कोल ट्राएओन र नादिन डे क्रेलर्कले समान १ विकेट लिए ।