‘माखायात ग्वंगः माः’ म्यूजिक भिडियो सार्वजनिक

ललितपुर, कार्तिक ४ गते ।

नेपालभाषाको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाल हङकङमा बस्दै आएका संगीतकर्मी कृष्णभक्त महर्जन र गायिका बानिका प्रधानबाट गाइएको गीत ‘माखायात ग्वंगः माः’ को म्यूजिक भिडियो सार्वजनिक भएको हो । बिहिबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितीमा ललितपुरमा एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्य, वरिष्ठ सिने पत्रकार बिजयरत्न तुलाधर, कीर्तिपुर नगरपालिकाका पूर्व नगर प्रमुख रमेश महर्जन लगायतले नेपालभाषाको संगीत क्षेत्रको दायरा फराकिलो हुँदै गएको विचार राखे । सार्वजनिक गरिएको गीतको संगीत संयोजक हरिशरण सायमिले गीत र म्यूजिक भिडियो निर्माण पक्षको बारे जानकारी गराए । गायक महर्जनको मन्तव्य भने भिडियो सामग्रीमार्फत राखिएको थियो । कार्यक्रममा गीत एवम् म्यूजिक भिडियो निर्माणमा योगदान दिने कलाकार, प्राविधिकहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ कलाकार श्रेष्ठले कलाकार र प्राविधिकहरुलाई सम्मान पत्र प्रदान गरे ।
सोही कार्यक्रममा संगीतकर्मी हरिशरण सायमि, गायक सतिश महर्जन, यमन श्रेष्ठ, बानिका प्रधान लगायतले गीत र कलाकार कृष्णभक्त महर्जनले नृत्य प्रस्तुत गरेका थिए । सार्वजनिक भएको गीत ‘माखायात ग्वंगः माः’ का रचनाकार र संगीतकार पनि गायक महर्जन नै हुन् । किरण जोशी र आराध्यालक्ष्मी खड्गी अभिनित म्यूजिक भिडियोको निर्देशन बालमुकुन्द प्रजापतिले गरेका छन् । छायाङ्कन र दृश्य सम्पादन शैलेस श्रेष्ठ लुभुले गरेका छन् । केभिएस लुभु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित म्यूजिक भिडियो गायक महर्जनकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।