मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान

भक्तपुर, कार्तिक ३
मध्यपुर युथ एशोसियसनको यु–१६ युवा फुटबल टोली चीन प्रस्थान गरेको छ । चीनको लिज्याङ शहरमा हुने यु–१६ टियाङ्यु लिउफाङ कपमा सहभागी हुन एशोसियसनको युवा टोली चीन प्रस्थान गरेको हो ।
प्रतियोगिता यही अक्टोवर २१ देखी २८ सम्म सञ्चालन हुने एशोसियसनमा अध्यक्ष उपेन्द्रमान सिंहले बताए । प्रतियोगितामा सहभागी हुन युथ टोलीको नेतृत्व गर्दै अध्यक्ष सिंह, उपाध्यक्ष अष्ट कवे, प्रशिक्षक राजेश श्रेष्ठलगायत १६ जना खेलाडी रहेका छन ।


टोलीलाई आइतवार मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । सो अवसरमा नगरप्रमुख श्रेष्ठले चीनमा उत्कृष्ट प्रदर्शन गर्दै एशोसियसनको मात्र नभई नेपाल र मध्यपुर थिमिको पनि प्रचार प्रसार गरी पर्यटक प्रवद्र्धनमा समेत भूमिका निर्वाह गर्न आग्रह गरे । नगरप्रमुख श्रेष्ठले आगामी पौष १२, १३ र १४ गते हुने मध्यपुर महोत्सव २०८१ को प्रचार गर्न पनि आग्रह गरे ।


खेलाडी र अफिसियलको बिदाईमा मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का वडअध्यक्ष कृष्णहरी आचार्य, वडा नं. ५ का वडाअध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापति, नेपाली कांग्रेस मध्यपुर थिमिका नगर सभापति हरीदास प्रजापतिलगायतको उपस्थिती रहेको थियो ।