स्रोत नखुलेको साढे ८ लाख नगद सहित राधेराधेबाट एक जना पक्राउ

भक्तपुर, कार्तिक १
भक्तपुर प्रहरीले स्रोत नखुलेको रकमसहित मध्यपुर थिमि–९ राधेराधेबाट बुधवार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका–४ स्थायी घर भई हाल काठमाण्डौं महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षिय शशीकान्त चौलागाई हुन ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले चौलागाईंले बोकेको झोलाबाट स्रोत नखुलेको नेपाली रुपैंया ८ लाख ५० हजार बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
नेउपानेका अनुसार चौलागाईंमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ‘क’ अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा भक्तपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।